नयाँ वर्षसँगै गगनले थाले नयाँ अभियान, प्रशंसा गर्न बाध्य भए कम्युनिस्टहरू पनि

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगनकुमार थापाले नयाँ वर्षसँगै सम्पदा संरक्षणसम्बन्धी अभियान शुरु गरेका छन् ।

गएको वर्षभरि ‘म बन्छु जिम्मेवार, कर्तव्यसँगै अधिकार’ अभियान चलाएका थापाले नयाँ वर्ष २०७६ भरिका लागि ‘हाम्रो सम्पदा, हाम्रो सम्पत्ति’ नाराका साथ सम्पदा संरक्षण अभियान शुरु गरेका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ४ को सांसदको कार्यालयमार्फत् शुरु गरिएको अभियानअन्तर्गत पहिलो कार्यक्रम आइतबार ज्ञानेश्वर भैरवस्थान मन्दिरमा गरिएको कार्यालयका सचिव शंकर कुइँकेलले जानकारी दिए ।

सांसद थापासँगै प्रदेशसभा सदस्यद्वय नरोत्तम वैद्य र राधा घले, स्थानीय जनप्रतिनिधि, वातावरण तथा संस्कृतिविद् तथा स्थानीयवासीले सम्पदाको संरक्षणका बारेमा छलफल गरी योजना बनाएका छन् ।

पहिलो कार्यक्रम भएको ठाउँ भैरवस्थान मन्दिरको आइतबार सरसफाइ गर्दै त्यसमा गर्नुपर्ने कामको विवरण पनि तयार पारिएको कुइँकेलले बताए ।

अभियानको सुरुवात गर्दै सांसद थापाले पुर्खाले बनाएको सम्पदाको संरक्षण र सम्वद्र्धन गर्नु अहिलेको पुस्ताको दायित्व भएकाले अभियान थालिएको बताए ।

उनले देशले गौरव गर्ने र विश्वमा नेपाललाई चिनाउने माध्यम भएकाले पनि सम्पदाको संरक्षणमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

कांग्रेसका युवा नेता थापाले सम्पदाको संरक्षणमा पर्याप्त चासो नदेखिनु चिन्ताको विषय भएको बताए ।

सांसद थापाले यस वर्षलाई सम्पदा संरक्षण वर्षका रुपमा मनाउन लागिएकाले यस अभियानअन्तर्गत हरेक महिना कम्तीमा एउटा सम्पदा क्षेत्रमा सरसफाइ, छलफल र योजना निर्माण गरिने जानकारी दिए ।

कम्युनिस्ट सरकारले पर्याबरण र सम्पदाहरूको सरसफाइमा ध्यान नदिइरहेका बेला कांग्रेसका युवा नेता थापाले सफाइको अभियान शुरु गरेका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले समेत काठमाडौंको काममा ध्यान दिन सकेका छनैनन् ।

Published : Monday, 2019 April 15, 7:58 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया