मिश्रित निर्वाचन हटाउन संविधान संशोधनको नेतृत्व सभापति देउवाज्यूले गर्नुपर्छ : बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले राजनीतिक स्थायित्वका लागि मिश्रित निर्वाचन प्रणाली बाधक रहेको बताएका छन् ।

शनिबार ललितपुरको गोदावरी नगरपालिकाले आयोजना गरेको ‘प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुल्ला मेयरकप फुटबल प्रतियोगिता २०८१’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने बताए । संविधान संशोधनको नेतृत्व सभापति शेरबहादुर देउवाले गर्नुपर्ने बताए ।

उनले भने, ‘राजनीतिमा दिन प्रतिदिन निराशा बढेको छ । किन बढ्यो ? के कारणले बढ्यो ? त्यस कारणले हाम्रा श्रद्धेय सभापतिज्यूले अबको दिनमा मलाई विश्वास छ कि अबको यो संघीय लोकतान्त्रिक गणतन्त्र जनताको व्यवस्थामा जनतालाई हरेक क्षेत्रमा खेलदेखि लिएर, स्वास्थ्यदेखि लिएर सबै कुरालाई चुस्त दुरुस्त राख्नको लागि अहिलेको निर्वाचन प्रणाली संघीयताको बाधक बनेको छ ।’

‘यो मिश्रित निर्वाचन प्रणालीलाई सहमतिको आधारमा विशेष गरि दुईतिहाई आवश्यक परेको हुनाले एमालेसहितलाई लिएर जसरी हिँजो सशस्त्र विद्रोहलाई लिएर शान्ति प्रक्रिया गर्‍यो’, उनले भने ।

‘जसरी राजा फाल्नको लागि सबै प्रक्रिया मिलाएर मुलुकलाई एउटा संविधान दिने प्रक्रिया गर्‍यो’, उनले भने, ‘त्यसै गरि जनताको स्थायित्व, दिगो शान्ति र विकासको लागि संविधान संशोधन संशोधन अनिर्वाय छ ।’

सभापति बानियाँले भने, ‘निर्वाचन प्रणाली प्रत्यक्षमा जानुपर्ने त्यसले गर्दा युवामा अझै भरोसा, अझै जोस जाँगर र यस्ता खेलदेखि स्वास्थ्यदेखि धेरै कुराहरूलाई अगाडि बढाउन अझ जरुरी छ ।’

सभापति बानियाँले भने, ‘पूर्वप्रधानमन्त्री श्रद्धेय सभापतिले लिड पार्टीको सभापति भएको हुनाले समय सापेक्षिक लिडर भएर यतापट्टि अगाडि बढ्नु हुनेछ भन्ने विश्वास राख्दछु ।’

उनले भने, ‘अहिले हाम्रो देशको राजनीति जसरी खेलमा एउटा नियम हुन्छ, अनुशासन हुन्छ, खेलमा उत्साह हुन्छ, अन्तर्राष्ट्रिय जगतमा खेलाडी र खेलले देशको शान र पहिचान जसरी गरेको छ, आज देखाएको छ, नेपाली संसारको लोकप्रिय र सबैभन्दा पुरानो खेलमा फुटबललाई लोकप्रिय खेल मानिन्छ । यो नयाँ खेलहरू धेरै आएका छन् ।’

‘नयाँ खेलमा मान्छेहरू क्रिकेटदेखि अन्य खेलहरूमा तर, सामान्य मान्छेहरूले बुझ्ने सरल रुपमा बुझ्ने र संसारको सबैभन्दा पुरानो लोकप्रिय खेल फुटबल नै हो’, बानियाँले भने ।

‘त्यसकारण यो खेलका नियम, अनुशासन र नेपालको गौरव र शान राख्ने र यो प्रदेशको प्रतिष्ठा बढाउने काम यो प्रदेशका खेलाडीहरूले गर्नेछन्’, उनले भने, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा अगाडि बढ्नेछन् ।’

सभापति बानियाँले भने, ‘गोदावरी नगरपालिकाका मेयर, खेललाई प्राथमिकता दिएर नगरपालिकाभित्र खेलसँग जोडिएका, खेल र अनुशासन, खेलाडीलाई युवाहरू अरु कुनैतिर नभडकिउन्, गलत बाटोमा नहिँडुन् भनेर बारबार नगरपालिकाले कहिले गणेशमान सिंहको नाममा किक बक्सिङ त कहिले किशुनजीका नाममा कहिले कराँते कहिले १४ वटा नगरपालिकालाई जुटाएर उपत्यकास्तरीय मेयर कप खेललाई विशेष प्राथमिकता दिएर युवाहरूलाई खेलसँग जोडेर केही कुरा, उत्साह युवाहरूलाई जोडेर भरोसा जोगाउँदै हिँड्ने मेयरलाई म यो कार्यक्रम गर्नुभएकोमा हृदयदेखि विशेष धन्यावाद दिन चाहन्छु’, उनले भने, ‘यस्ता खेलसँगका गतिविधि अझै अगाडि बढिरहुन् ।’

Published : Saturday, 2024 April 27, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया