लामिछानेलाई बचाउन प्रचण्डले हुकुम प्रमाङ्गी गरेपछि कांग्रेसले के भन्यो ?

सञ्जय गौतम, सांसद, नेपाली कांग्रेस, प्रतिनिधि सभा
हिजो सरकारमा रहनुभएका साथीहरूले पनि यो मुद्दालाई बारम्बार उठाउनुभएको थियो । परिस्थिति फरक भएको छ । समय फेरिएको छ । निश्चित रुपले यतापट्टि हुने साथीहरू उता पुग्नुभएको छ । उताका साथीहरू यता हुनुभएको छ । लाग्न के सक्छ भने यो राजानीतिक आग्रह, पूर्वाग्रहले यो कुरा उठेको भन्ने लाग्न सक्छ । तर, त्यो होइन ।
यो विषयमा अहिले सत्ता पक्षमा हुने साथीहरूले पनि त्यो बेलामा गम्भीरतापूर्वक उठाएको हामीले महशुस गरेका थियौँ । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले बारम्बार यो विषयमा हामी छानविन गरिरहेका छौँ । हामी यो विषयमा निष्कर्षमा पुग्छौं । हामी यसको गाम्भीर्यतालाई बुझेका छौँ । यसका अपराधीहरूलाई उन्मुक्ति हुन दिँदैनौँ अभिव्यक्ति दिँदै गर्नुभएको थियो । हामी त्यसमा विश्वस्त पनि थियौँ । सरकार फेरियो परिस्थिति पनि फेरियो ।
अब अहिले गम्भीर प्रश्न कहाँ उठेको छभने जसमाथि छानविन भइरहेको थियो त्यसमाथि यो मुद्दा निरुपण हुनुपर्ने थियो, निष्कर्षमा राज्य पुग्नुपर्ने थियो, उहाँ नै गृहमन्त्रीको जिम्मेवारी लिएर त्यो ओहदामा पुग्नुभयो । त्यति मात्रै भएको छैन । हामीले जवाफ खोज्यौँ । प्रधानमन्त्रीजीले न्यायाधीश जस्तो, एकदमै हुकुम प्रमाङ्गी दिने, राजा माहाराजा जस्तो, एकदम क्लिन चिट दिने प्रयास गर्नुभयो । त्यति मात्रै सुरक्षा निकायका प्रमुख जुन अहिले वर्तमान नेतृत्वमा हुनुहुन्छ उहाँले समेत यो विषयलाई फासफुस ढङ्गले क्लिन चिट दिने प्रयास गर्नुभयो ।
यसले गर्दा हामीले उठाइरहेका मुद्दाहरूमा गम्भीर प्रश्नहरू जन्मिएको छ । हामी संसदीय समितिको माग गरिरहेका छौँ । लामो समयदेखि प्रमुख प्रतिपक्षको हैसियतले यो कुरालाई संसदमा उठाइरहेका छौँ ।
आज गोरखा मिडियाका नाममा ९० हजारभन्दा बढ्ता बचतकर्ताहरूको ८० करोडभन्दा धेरै रकम बुटवल, चितवन, पोखराका सहकारीमा जम्मा भएका दजर्नौं सहकारीहरूको रकम गोरखा मिडिया प्रालिमा जम्मा भएको छ । त्यो रकम, आज त्यो मिडिया प्रालि सञ्चालनमा पनि छैन । अब त्यो रकम अपचलन भएको छ, त्यो विषयमा कसले जवाफ दिने हो ? ९० हजार जनता प्रभावित छन् ती जनताले कसरी न्याय पाउने हुन् ? भन्ने विषय गम्भीर रुपले उठेको छ । कन्फिक्ट अफ इन्ट्रेस्टको कुरा पनि हो । यो कानूनी कुरा मात्रै होइन । यो नैतिक पनि कुरा हो । नैतिकताका पनि धेरै उदाहरण छन् ।
एमालेका साथीहरूलाई पनि ध्यानाकर्षण गराउन चाहन्छु । तपाईहरू पनि प्रतिपक्षमा हुनुहुन्थ्यो । तत्कालीन अर्थमन्त्री डा.रामशरण महतका विषयमा प्रश्न उठ्यो । विदेशको खातामा डलर एकाउन्ट खोलेको छभनेर, उहाँ त वास्तवमा यूएनडीपीको जबमा हुनुहुन्थ्यो । त्यो विषयमा प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभयो । छानविन गर्ने मार्ग प्रशस्त गरिदिनुभयो । यहि सदनमा गोकुल बास्कोटाजी सेक्युरिटी प्रेसको कुरा उठ्यो । उहाँले पनि त्यो बाटो देखाइदिनुभयो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माजीको विषयमा प्रश्न उठ्यो । उहाँले पनि बाटो देखाइदिनुभयो । जब नैतिक प्रश्न उठ्छ । कृष्णबहादुर महराका विषयमा पनि प्रश्न उठ्यो । तत्कालीन कानून मन्त्रीजीका विषयमा पनि प्रश्न उठ्यो । एउटा बाटो बन्यो । समस्या नैतिकताको पनि ठूलो प्रश्न हो । यो विषयमा सरकार गम्भीर हुनुपर्छ ।
प्रमुख प्रतिपक्षले उठाइरहेका कुराहरू गम्भीर छन् । गम्भीर प्रकृतिका छन् । प्रधानमन्त्रीको जवाफ । प्रहरी प्रमुखको जवाफ । र, विकसित घटना क्रमहरूले एउटा संशय पैदा भएको छ । यसको न्याय निरुपण कसरी हुन्छ ? प्रधानमन्त्रीज्यूले ठूलो माछा काखीमा च्यापेर सानो माछाको मात्रै खोजी गर्ने कुरा प्रतिवद्धता मात्रै देखाएर पुग्छ ? गम्भीर प्रश्न उठाएका छौँ । हामी चाहन्छौँ संसदीय छानविन समिति बनोस् ।
हामीलाई यो संसद आवश्यक छ । संसदको गरिमा बुझेका छौँ । महत्व बुझेका छौँ । जनताका सवालहरू छन् । भ्रष्टाचारका मुद्दा छन् । जनजीविकाका सवालहरू छन् । जनताले पानी पाएका छैनन् । विकास निर्माणका कुराहरू अफ्ठ्यारोमा छन् । पूर्वपश्चिम राजमार्गको स्थिति हेर्यौँ भने मुलुकको व्यवस्था अनुमान गर्न सक्छौं । जनतामा घोर निरासा छ । हामीले आशाको सञ्चार गर्नुपर्नेछ । सरकार जिम्मेदार बनोस् । सरकारले आफ्नो दायित्व निर्वाह गरोस् । मन्त्रीहरूले नैतिकता र कानूनी बाटोलाई प्रशस्त गर्नका लागि सहज वातावरण निर्माण गरेर मुलुक र जनतालाई सन्देश दिउन् । पत्रिकामा कुरा उठ्छन् । दृष्टि बन्छन् ।
आज रावणको कुरा हुँदा दक्षिण भारतमा पूजा गरिन्छ । हामी कहाँ पुत्ला दहन गरिन्छ । प्रश्न त उठ्छन् । सीतामाथि प्रश्न उठ्दा अग्निदाहमा जानु पर्यो त ? प्रश्न उठ्छ राामराजको, प्रश्न उठ्छ सुशासनको, जुन सरकार नैतिकताको बहन गर्न सक्दैन त्यसले मुलुकलाई कसरी अग्रगमनमा लगेर जान्छ ?
संसदीय समिति छिटो बनोस् । हामी बारम्बार यो मुद्दा उठाउने छौँ । आम जनताका बीचमा यो मुद्दालाई लिएर जाने छौँ । हामी चाहँदैनौँ रोष्टममा पुगौं । हामी चाहँदैनौँ अबरोध गरौँ । बाध्य भयौँ भने हामी त्यो ठाउँमा पनि पुग्न सक्ने स्थिति निर्माण हुन सक्छ । नैतिक र कानूनी रुपमा उठेको सवालमा कन्फिल्क्ट अफ इन्ट्रेस्टको विषय गम्भीर छ ।
(२०८०/१२/१८ गते प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर सम्बोधन)
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया