सभापति देउवाद्वारा गोदावरीका मेयर गजेन्द्र महर्जनको प्रशंसा, खेलकुदमा सहयोग गर्ने प्रतिवद्धता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि गोदावरी नगरपालिका र मेयर गजेन्द्र महर्जनबाट भएको कार्यको निकै प्रशंसा गरेका छन् ।

शनिबार ललितपुरको गोदावरी नगरपालिकाद्वारा आयोजित ‘प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता २०८१’ को टाहाखेल गोदावरी नगरपालिका, ललितपुरमा उद्घाटन गर्दै देउवाले खेल क्षेत्रको विकासका लागि भएका प्रयासहरूको प्रशंसा गरेका हुन् । उनले मेयर गजेन्द्र महर्जनले खेलको विकास र खेल मैदान बनाउन गरेको कार्यप्रति खुसी व्यक्त गरेका छन् ।

सभापति देउवाले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गरेको कार्यलाई अन्य स्थानीय तहले पनि कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् ।

उनले भने, ‘खेल क्षेत्रको विकासका लागि सुविधा सम्पन्न खेल मैदान आवश्यक छ । नगरपालिकाले यसको विकास निर्माणको सुरुवात गरेकोमा मलाई खुसी लागेको छ ।’

उनले भने, ‘खेल मैदानको सुरक्षा गर्ने अन्य स्थानीय पालिकाहरूले पनि यस्तै कामको सुरुवात गर्ने निरन्तर प्रयास हुनेछ भन्ने मैले अपेक्षा लिएको छ ।’

‘प्रदेश सरकारको सहकार्य अनिर्वाय छ । खेल मैदानलाई थप व्यवस्थित बनाउनको लागि पनि प्रतिवद्ध रहन चाहन्छु’, सभापति देउवाले भने ।

सभापति देउवाले भने, ‘व्यक्तिलाई अनुशासित बनाउन खेलकुदको योगदान महत्वपूण रहन्छ । अनुशासित समाज र स्वस्थ्य बनाउन आवश्यक छ ।’

उनले भने, ‘धार्मिक, सांस्कृतिक ऐतिहाँसिक महत्व बोकेको पर्यटकीय गोदावरी नगरपालिकाले खेल क्षेत्रको विकास र खेलाडीहरूलाई प्रोत्साहन गर्दै उद्देश्यसहित स्थानीय तहलाई संयोजन गरि प्रतियोगिता गरेकोमा सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।’

‘बहुद्देश्यीय खेल मैदान निर्माण गरि यहि मैदानमा प्रतियोगिता आयोजना गरिएकोमा सम्पूर्ण टिमलाई बधाइ र धन्यावाद दिन चाहन्छु’, उनले भने ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँ, नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय मदनबहादुर अमात्य र उर्मिला केसी, मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2024 April 27, 8:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया