आन्दोलनकारी डाक्टरहरूलाई लालबाबु पण्डितको घत लाग्ने धम्की

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आन्दोलनरत चिकित्सकहरूले परिवर्तनलाई आत्मसात गर्न नसकेको भन्दै परिवर्तनका विरोधीहरूको संज्ञा दिएका छन् ।

काठमाडौंको गौशालास्थित विश्वास बहुउदेश्यीय सहकारी संस्थाको २०औँ साधारण सभालाई शनिबार सम्बोधन गर्दै मन्त्री पण्डितले डाक्टरहरूले मुलुकमा भएको परिवर्तन नमान्ने चुनौती दिएको बताए ।

‘डाक्टरसाबहरूले हामी यथाअवस्थामा बस्छौँ भन्नु हुन्छ । मुलुकले परिवर्तन चाहेका बेला उहाँहरू यथास्थितिमा बस्छौँ । पहिलाकै अवस्थामा राखिदिनुस् भन्नु हुन्छ’, उनले भने, ‘परिवर्तनलाई सबैले आत्मसात् गर्नुपर्छ । पछाडि फर्कने अवस्था छैन ।’

नेपालमा प्रशासनिक संरचना परिवर्तन भएको बताएका मन्त्री पण्डितले परिवर्तनका बेला देशलाई ठूलो पीडा हुने गरेको बताए । उनले परिवर्तन नचाहनेहरूका लागि कुनै पनि ठाउँ नरहेको समेत बताए ।

संघीय मामिला मन्त्री पण्डितले अपराध गर्ने र अपराध चिताउनेलाई परास्त गर्नै पर्ने बताए ।

सरकारी चिकित्सकहरूले एक हप्तादेखि समायोजनको विरोध गरेर आन्दोलन गरिरहेका बेला मन्त्री पण्डितले देशमा भएको परिवर्तनलाई डाक्टरहरूले स्वीकार गर्न नसकेको बताए ।

मन्त्री पण्डितले सहकारी संस्थाहरू पछिल्ला दिनहरूमा राम्रो काम गरेको बताएका छन् ।

‘सबै सहकारीलाई एउटा ठाउँमा राखेर हेर्नु हुँदैन । कतिपय सहकाहकारीहरूले राम्रो काम गरेका छन्’, उनले भने, ‘सहकारीमाथि रहेका अविश्वासहरूलाई काम गरेर विश्वासमा लिनुपर्छ ।’

सत्तारुढ नेकपाका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले सहकारीहरूले विगतमा आफ्ना सदस्य र बचतकर्ताहरूलाई ठगी गरेको स्मरण गर्दै पछिल्ला दिनहरूमा सहकारीहरूले गतिलो काम गरेको बताए ।

‘विगतमा सहकारीका सदस्य र बचतकर्ता ठगिएका धेरै उदाहरण थिए’, उनले भने, ‘अहिले त्यो समस्या छैन ।’

सहकारीमा कुनै समस्या भए सरोकारवाला निकायले समाधान गर्नुपर्ने पूर्वमन्त्री न्यौपानेको भनाइ छ ।

विश्वास बहुउदेश्यीय सहकारी संस्थाको साधारण सभामा सहभागी पाहुना र सदस्यहरूलाई अध्यक्ष एलएन गौतमले स्वागत गरेका थिए ।

 

Published : Saturday, 2019 April 13, 3:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया