कांग्रेसका नेता तथा पूर्वमन्त्री सूर्यमान गुरुङको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री सूर्यमान गुरुङको करीव ७५ वर्षको उमेरमा निधन भएको छ ।

मंगलबार बिहान १० बजे काठमाडौंको कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचारका क्रममा गुरुङको निधन भएको कांग्रेसका केन्द्रीय सदस्य तारामान गुरुङले बताए ।

नयाँबानेश्वरस्थित निवासमा विगत दुई वर्षदेखि रहेर उपचार गराउँदै आएका गुरुङलाई मंगलबार स्वास्थ्यमा समस्या भएपछि आफन्तले हिमाल अस्पतालमा लगेका थिए । ताप्लेजुङ जिल्ला स्थायी घर भएका गुरुङ लामो समयदेखि अस्वस्थ रहेका थिए ।

ताप्लेजुङ जिल्लाको पूर्वसभापति समेत रहेका सूर्यमान गुरुङ निर्वाचित पूर्वसांसद पनि हुन् । कांग्रेसले उनलाई बेलाबेला विभिन्न जिम्मेवारी दिएर संगठन निर्माणमा खटाउने गरेको थियो ।

स्व.गुरुङकी पत्नी रहेकी छिन् । स्व.गुरुङका २ छोरा र ३ छोरी रहेका छन् ।

छोराछोरी विदेशमा छन् । उनीहरू स्वदेश आउनेवित्तिकै पशुपति आर्यघाटमा हिन्दु संस्कारअनुसार अन्तिम दाहासंस्कार गरिने केन्द्रीय सदस्य तारमान गुरुङले बताए ।

गुरुङको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

Published : Tuesday, 2024 May 7, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया