प्रचण्डको शक्तिशाली निर्णय, पक्राउ पुर्जी जारी भएकी पञ्चा सिंहसहित ५ जनालाई मुद्धा नचलाउने

काठमाडौं । करीव १६ वर्ष अगाडि कालीकोटमा राजबहादुर मल्ललाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा फरार सूचीमा रहेकी नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ५ जनाविरुद्धको मुद्धा नचलाउने निर्णय भएको छ ।

अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसमेत ५ जनाविरुद्ध मुद्दा नचलाउने निर्णय सरकारी वकिल कार्यालय सुर्खेतले गरेको सहायक जिल्ला न्यायाधिवक्ता प्रेम भण्डारीले बताएका छन् ।

अध्यक्ष सिंहसहित ५ जनाविरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण नभएको सरकारी वकिल कार्यालय सुर्खेतले जनाएको छ ।

अध्यक्ष सिंहसहित गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुवास भन्ने वीरबहादुर मल्ल, अशोक भन्ने अली कार्कीविरुद्ध मुद्दा नचल्ने निर्णय भएपछि पीडित पक्ष निकै तनाबमा परेको छ ।

पुरक जाहेरीमा उल्लेख भएका मध्ये टाइगर भनिने पदमबहादुर रावत र नरेश सिंह भन्ने मेहरमान सिंहविरुद्ध वैशाख १८ गते मुद्दा दायर भएको छ ।

अध्ययनपछि महान्यायाधिवक्ताको कार्यालयमा फाइल पठाइसकेको सहायक जिल्ला न्यायाधिवक्ता भण्डारीले बताएका छन् ।

कालीकोटमा २०६५ फागुन २६ गते राजबहादुर मल्ललाई खुकुरी प्रहार गरी हत्या भएको थियो । अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले पक्राउ पूर्जी जारी गरेको थियो ।

प्रहरीले यसअघि जिल्ला अदालतबाट २०७९ मा पनि उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको थियो । २०७९ साउन १३ गते सिंहसहितका व्यक्तिहरू हत्यामा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा पुरक जाहेरी दर्ता भएको थियो ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितका दलहरूको नयाँ गठबन्धनको सरकारले अपराधमा मुछिएर अदालतबाट पक्राउ पुर्जी समेत जारी भएकी अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ५ जनालाई मुद्दा नचलाउने निर्णय सरकारले गरेपछि ठूलो प्रश्न उठेको छ ।

यसअघि, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका सभापति रवि लामिछानेको दोहोरो नागरिकता र राहदानीको मुद्दा पनि फिर्ता लिने निर्णय गरेका थिए । प्रधानमन्त्री दाहालले सत्ताको चरम दुरुपयोग गरेर अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसहितका ५ जनालाई मुद्दा नचलाउने निर्णय गर्न दवाव दिएर के सन्देश दिन खोजेको हुन् प्रश्न उठेको छ ।

Published : Monday, 2024 May 6, 1:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया