ओलीलाई भेट गरेका शेखरद्वारा कार्कीसँग विशालनगरमा वार्ता

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग पनि भेटवार्ता गरेका छन् ।

आइतबार मुख्यमन्त्री कार्कीले नेता कोइरालालाई काठमाडौंको बालुवाटारस्थित कोइरालाको सचिवालय विशालनगरमा भेट गरेका हुन् । कोशी प्रदेश सरकारको विषयलाई लिएर उनीहरूका बीच कुराकानी भएको छ ।

कोशी प्रदेश मध्यावधिमा जानु हुन्न भन्ने विषयमा कार्की र कोइरालाबीच सहमति भएको छ । केही दिन अगाडि कोशी प्रदेशको सरकार टिकाएर जाने विषयमा नेता कोइरालाले एमाले अध्यक्ष ओलीसँग प्रस्ताव राखेका थिए ।

ओलीले भने संघीय सरकारको गठबन्धन अर्को भएको अवस्थामा प्रदेशमा अर्को हुन नसक्ने जवाफ दिएका थिए ।

नेता कोइरालाले गत बुधबार बालकोटमा पुगेर एमालेका अध्यक्ष ओलीसँग भेट गरेका थिए । भेटमा अहिलेको गठबन्धन भत्काएर कांग्रेस र एमाले मिलेर सरकार बनाउन प्रस्ताव गरेका थिए ।

Published : Sunday, 2024 May 5, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया