जसपा नेपालमा फर्किन अपील

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले गत वैशाख २१ गते अशोक राई नेतृत्वमा भएको पार्टी विभाजनपछि नयाँ यात्रामा निस्किएकाहरूलाई पुरानै घरमा फर्किन अपील गरेका छन् ।

शुक्रबार अध्यक्ष यादवले वक्तव्य जारी गरेर जसपा, नेपालबाट अलग भएर फरक पार्टीमा लागेकाहरूसँग (अशोक राई) गएका विभिन्न तह र तप्काका नेता र कार्यकर्ताहरूलाई मूलधारमा फर्कि भनेका हुन् ।

उनले जसपा नेपाल मूलधार भएको तर्कसहित एक विशिष्ट सोच, सिद्धान्त र एजेण्डा बोकेकाले यसमै फर्किन अपील गरेका छन् ।

उनले भने, ‘जसपा उत्पीडित राष्ट्रियताको मुक्ति, हिमाल, पहाड र तराई/मधेशबीचको पारस्परिक सम्मान र एकता निर्माण गर्ने सङ्गठन भएकोले पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै समाजवादी आन्दोलन, पहिचान, संघीयता र लोकतान्त्रिक गणतन्त्र लगायतका सवालमा प्रतिबद्ध भएर पनि भ्रमवश फरक पार्टीमा गएका साथीहरूलाई गलत बाटो छोडेर आफ्नो मूलधारमा फर्किन हुन आह्वान गर्दछौं ।’

अशोक राई नेतृत्वमा संघीय संसद्का ७ जना सांसदसहित विभाजित समूहले जसपा नामक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराइसकेको छ ।

विभाजनपछि अशोक राई सरकारबाट बाहिरिँदा जसपाका प्रदीप यादव र हसिना खातुन मन्त्री भइसकेका छन् ।

Published : Friday, 2024 May 17, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया