मिश्रित निर्वाचन हटाएर प्रत्यक्षमा जाऔँ, ०८४ मा कसले ल्याउँछ १५० सिट अनि हेरौँ : सभापति बानियाँ

मण्डनदेउपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले अहिलेको मिश्रित निर्वाचन प्रणाली अस्थिरताको प्रमुख समस्या रहेको बताएका छन् ।

बुधबार काभ्रेपलाञ्चोक जिल्लाको नेपाली कांग्रेस मण्डनदेउपुर नगर कार्यसमितिले आयोजना गरेको नगर सम्मेलनलाई सम्बोधन गर्दै बानियाँले प्रतिनिधि सभाको मिश्रित निर्वाचन प्रणाली हटाएर प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने बताए । उनले संविधान संशोधन गरेर निर्वाचन प्रणाली सुधार गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘हामीले इमान्दारिता देखाउँदै आएको हो । माओवादी पार्टीमा इमान्दारिता रहेन । त्यस कारण प्रदेश र संघमा कांग्रेस सरकारमा सहभागी हुन सकेन ।’

‘कांग्रेसलाई मत दिनेहरूले भन्न थाले एक्लै निर्वाचन जित्न संगठन निर्माण गर्नुपर्छ’, सभापति बानियाँले भने ।

‘नयाँ पार्टीहरूले धेरै ठूला ठूला कुरा गरेका छन् । हिजो टिभीमा बोल्दा बोल्दै टिभी छोडेर आज पार्टी खोलेर भूगोलमा केही सिट ६ वटा जितेका थिए । तनहुँमा थपेर ७ वटा भए’, बानियाँले भने, ‘समानुपातिक प्रक्रियाले १४ वटा सिट लिएर २१ भए । आज ठूला कुरा गरेका छन् ।’

सभापति बानियाँले भने, ‘०८४ भनेको सुनी राखेको छु । ०८४ भनेको के हो ? १५० सिट ल्याउँछौं रे ? हिम्मत छभने संसदमा यदि संविधान संशोधन गरेर निर्वाचन प्रणाली प्रणाली संशोधन गरौँ । त्यसपछि कसले ल्याउँछ १५० सिट त्यहाँ हेरौँ ।’

उनले भने, ‘केको ०८४ को कुरा गर्ने ? कांग्रेस राणा फाल्न सक्ने, आज ८४ गर्‍यो कांग्रेसले केको ०८४ को निर्वाचनको कुरा गर्ने ? राणाको ८४ गरेर आइसक्यो, माओवादीको शान्ति प्रक्रिया गरेर आइसक्यो ।’

‘भरखर उम्लिएको पार्टीले कांग्रेसलाई ०८४ को धम्की नदिए हुन्छ । कांग्रेस संविधान संशोधन गर्न तयार छ’, उनले भने, ‘आउनुस् संविधान संशोधन गरेर निर्वाचन प्रणाली अहिलेको अस्थिरता हो ।’

‘सानातिना पार्टी अहिले समावेशी, समानुपातिक प्रतिनिधित्वमा समानुपातिक प्रक्रियाले गर्दा अहिले फुइँफुइँ गरेका छन्’, बानियाँले भने, ‘आउ हिम्मत छभने संविधान संशोधन गरौँ । मिश्रित निर्वाचन प्रणाली हटाऔँ । मिश्रित निर्वाचन प्रणाली नै अस्थिरताको जग हो । प्रत्यक्ष निर्वाचन प्रणाली गरौँ ।’

‘निर्वाचन प्रणाली प्रत्यक्षमै जानुपर्छ । कसको आउँदो रहेछ १५० सिट हेरौँ । एक्लाएक्लै चुनाव लडौं । नेपाली कांग्रेस त्यसको लागि तयार छ’, सभापति बानियाँले भने ।

सभापति बानियाँले भने, ‘हामीभित्रको आन्तरिक कमीकमजोरी छ । हामीभित्र केहीन केही सुधार गर्नुपर्नेछ । सुद्धीकरण गर्नुपर्नेछ । आफूले टिकट पाए ठीक, नपाए बेठीक ।’

उनले भने, ‘कांग्रेस सत्तामा हुँदा प्रतिपक्षको आवाज सुन्ने । कांग्रेस प्रतिपक्षमा हुँदा आजको तत्कालीन गृहमन्त्री सहकारीमा, कहिले दुइटा नागरिकतामा, कहिले दुइटा पासपोर्टमा परेको छ ।’

‘आज एउटा सामान्य नागरिक भए दुइटा नागरिकतामा जेल जानुपर्छ । दुइटा पासपोर्टमा जेल जानुपर्छ’, उनले भने, ‘एमाले र माओवादीलाई सत्तामा बहुमत चाहिएको थियो । रविको राष्ट्रिय स्वतन्त्र पार्टीको संख्या त्यहाँ महत्वपूर्ण थियो । उहाँसँग आज केही शक्ति भएको कारणले लोकतन्त्रतमा बराबरको न्यायको सिद्धान्त हुन्छ ।’

‘दुइटा नागरिकता, दुइटा पासपोर्ट भएको अहिले बहुमत चाहिएको कारणले कानूनी सजाय भोग्न नपर्ने ? कम्युनिस्टको यो खुलेआम राजनीतिक गुण्डागर्दी चलेको छ’, बानियाँले भने, ‘कांग्रेसले संसदीय छानविन समिति माग गरिरहेको छ । रवि लामिछानेले संसदीय छानविन समिति बनाउन किन रोक्ने ? प्रधानमन्त्री, गृहमन्त्री, आइजीपी न्यायाधीश बन्ने हो भने यो देशको न्याय कहाँ जान्छ ? गल्ती गर्नेहरू कांग्रेसकै भए पनि जेल जान्छन् ।’

नेपाली कांग्रेस मण्डनदेउपुर नगर कार्यसमितिद्वारा आयोजित नगर सम्मेलनमा नगर सभापति कश्यप पौडेल, नेपाली कांग्रेस बागमती प्रदेश महामन्त्री कञ्चनचन्द्र बादे, बागमती प्रदेशका सदस्यहरू गणेश फुयाल, प्रज्वल दवाडी, नेता बिष्णुमणि नेपाल, रामेश्वर ढकाल, कमल लामा, पुरुषोत्तम ठकुरीलगायत नेता कार्यकर्ताको ठूलो उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2024 April 3, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया