प्रहरीले पत्र लेखेर संसदको मान मर्यादा हरण भयो : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले संसदको गरिमा हरण भएको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले प्रहरीले संविधान विपरित संसदलाई चिठी लेखेको बताए ।

उनले भने, ‘संसदको मानमर्यादा हरण भएको छ । संसदमाथि चिठी लेख्ने काम प्रहरी प्रशासनले गरेको छ ।’

‘संविधान विपरित अनुसन्धानमा छ भनेर संसदलाई चिठी लेख्ने परम्परा कहिलेदेखि सुरु भयो ? र यो किन गरिन्छ ? संसदको मान मर्यादा हरण भयो’, सभापति खतिवडाले भने ।

नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा प्रकरणमा बयान लिने क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले संसद सचिवालयलाई पत्र लेखेर जानकारी गराएको थियो । संसदलाई प्रहरीले पत्र लेखेर जानकारी गराउने अधिकार छैन ।

सांसद खतिवडाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीका पिएसओहरूको गृहमन्त्रालयमा आतंक रहेको भन्दै हालै डिएसपीबाट एसपमा बढुवा सिफारिस भएकोप्रति विरोध जनाएका छन् ।

उनले भने, ‘गृह मन्त्रालयमा पिएसओको आतंक बढेको छ । पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीका पिएसओहरू जतिसुकै नम्बरमा भए पनि प्रमोशन भइहाल्नुपर्ने दक्षता, योग्यता र क्षमताको कदर नहुने परिपाटीको विकास भयो ।’

सांसद खतिवडाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रशिक्षार्थी भर्ना गर्ने नियमावली ल्याएपछि विरोध गरेका छन् ।

उनले भने, ‘मन्त्रीहरू प्रशिक्षण लिएरहेका छन् । मन्त्री प्रशिक्षार्थी नै कर्मचारी नियुक्ति गर्ने परम्परा भयो भने देश कहाँ जाने हो ? त्यसमा सरकारको ध्यान जाओस् ।’

सांसद खतिवडाले भने, ‘भरखरै परराष्ट्रमन्त्री भरखर चाइनातिर सात दिनसम्म मीठोमसिनो चिब्रो परिवर्तन गरेर आउनुभएको छ । देशले पनि केही पायो कि सदनले जानकारी गराइदिनु हुन अनुरोध गर्दछु ।’

Published : Wednesday, 2024 April 3, 2:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया