भट्टराई कांग्रेस निकटका कर्मचारीको युनियनको सचिवमा उम्मेदवार बन्ने

काठमाडौं । नेपाली कांग्रेस निकट कर्मचारीहरूको साझा संस्था नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनको सरगर्मी बढेको छ ।

आगामी माघ ८, ९ र १० गते काठमाडौंमा हुन गहिरहेको महाधिवेशनमा जिल्ला र विभागीय कार्यसमितिका अध्यक्ष र महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।

अधिवेशनले आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

कोभिडको संक्रमण तिब्र हुँदै गर्दा सरकारले २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम नगर्न आग्रह गरेको भएपनि स्वास्थ्य मापदण्ड पूरा गरी तोकिएकै मितिमा महाधिवेशन गरिने युनियनले जनाएको छ ।

आठौं महाधिवेशनबाट युनियनको केन्द्रीय नेतृत्वमा आउन उम्मेदवारी घोषणा हुने क्रम सुरु भएको छ ।

यसैबीच राजनीति शास्त्रमा विद्यावारिधि गर्दै गरेका कर्मचारी युनियन अर्घाखाँचीका पूर्वअध्यक्ष तथा आधिकारिक ट्रेड युनियन अर्घाखाँचीका पूर्वअध्यक्ष रहिसकेका प्रकाश भट्टराईले पनि युनियनको सचिवमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

भट्टराईले भने, ‘मैले अझै यही पदमा उम्मेदवार भनेर निर्णय गरिसकेको छैन । देशभरका साथीहरूसँग सल्लाह गर्दैछु । केहि दिनमा केन्द्रीय नेताहरुसँग समेत परामर्श गरी उम्मेदवारी घोषणा गर्नेछु ।’

कर्मचारी युनियन अर्घाखाँचीको अध्यक्ष हुँदा आधिकारिक ट्रेड युनियनको निर्वाचनमा युनियनलाई झण्डै दोब्बर मतले विजयी बनाएका भट्टराईले राजपत्र अनंकित कर्मचारी संरक्षण अभियान (नायब सुब्बा बचाउ अभियान) को नेतृत्व गर्दै माग स्थापित गराउन क्रियाशील रहँदै आएका छन् ।

निजामती सेवा प्रवेश गरेसँगै जिल्लास्तरीय युनियनका क्रियाकलापमा सक्रिय हुँदै जिल्लालाई सफल नेतृत्व प्रदान गरेको अनुभव भएकोले नेपाल निजामती कर्मचारी युनियनलाई देशभरमा कसरी प्रथम बनाउन सकिन्छ भन्ने खाका र योजना आफूसँग भएको उनले बताएका छन् ।

युनियनको आसन्न महाधिवेशनबाट उपयुक्त भूमिका निर्वाह गर्न सक्ने गरी केन्द्रीय समितिमा आउन खोजेको उनले बताएका छन् ।

Published : Wednesday, 2022 January 19, 7:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया