यातायात व्यवसायीको समस्या कांग्रेसले समाधान गर्छ : सभापति बानियाँ
पोखरा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले यातायात क्षेत्रको प्रवर्द्धनका लागि कांग्रेस तयार रहेको बताएका छन् ।
शनिबार पोखराको लेकसाइडमा सांखु शालीनदी यातायात प्रालिको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै बानियाँले यातायात क्षेत्रको समस्या समाधानमा कांग्रेसले काम गरिरहेको बताए ।
उनले यातायात क्षेत्रमा रहेको समस्याबारे आफू जानकार रहेको उल्लेख गरेका छन् ।
नीतिगत एवं प्रशासनिक क्षेत्रमा आवश्यक सुधारका लागि आफूले पहल गर्ने उनले बताए ।
नेपालको अर्थतन्त्रको विकासमा निजी क्षेत्रका यातायात व्यवसायीहरूको महत्वपूर्ण भूमिका रहेकाले व्यवसायीले झेल्नुपरेका समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने सभापति बानियाँले बताएका छन् ।
कार्यक्रममा प्रालिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठ, कांग्रेसका नेताहरू उपेन्द्र कार्की, प्रवीनमान सिंह, कवीर शर्मा, शंखरापुर–४ का वडाध्यक्ष विष्णुबहादुर श्रेष्ठ, राप्रपाका राजु विष्ट, रमेश नापित, प्रालिका सल्लाहकार रामेश्वर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया