देउवालाई शेखरले सहयोग गर्नुपर्छ, गुट चलाउन हुँदैन, राम्रा मान्छे ल्याउन छलफल चलेको छ : खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले सभापति शेरबहादुर देउवाले गुटको राजनीति गरेको भनेर शेखर कोइराला समूहले लगाएको आरोपको खण्डन गरेका छन् ।

बुधबार बिहान नेपाली रेडियो नेटवर्कसँगको अन्तर्वार्तामा खतिवडाले देउवाले गुटको राजनीति नगर्नेमा आफूले विश्वास लिएको बताए । केन्द्रीय सदस्य मनोनयनमा देखिएको असन्तुष्टिका विषयमा खतिवडाले सिनियर र राम्रा नेताहरूलाई सभापतिले मनोनयन गरेको बताए ।

उनले भने, ‘मनोनीतको विषयमा अलिकति असन्तुष्टि भएको मैले पनि बुझेको छु । योग्य साथीहरू चुनावमा भाग लिँदा पराजित हुनुभएको छ । अथवा आउन सक्नु भएको छैन । पराजित पनि नभनौँ पार्टीको आन्तरिक चुनाव हो ।’

‘पार्टीभित्र एउटा राम्रो सन्देश गएको छ’, पूर्वसांसद समेत रहेका युवा नेता खतिवडाले भनेका छन्, ‘मतदाताले एकजना उप–सभापति र दुई महामन्त्री सभापति देउवाको फरक टिमबाट दिनुभएको छ । यो सुन्दर पक्ष पनि हो ।’

‘मनोनीतमा कुन समूह भन्ने होइन । रामचन्द्र पौडेल सिनियर नेता हो । उहाँ सबैको नेता हो । उहाँलाई पाखा लगाएर राजनीति गर्नु हुँदैन’, केन्द्रीय सदस्य खतिवडाले भनेका छन् ।

‘प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, सुजाता कोइरालालाई बाहिर राखेर पार्टीमा राम्रो हुँदैन’, उनले भने, ‘गणेशमान सिंहको छोरो हार्दै हुनुहुन्थ्यो । गिरिजाप्रसाद कोइरालाको छोरी हार्दै हुनुहुन्थ्यो । महेन्द्रनारायण निधिको छोरो हार्दै हुनुहुन्थ्यो । नोना कोइरालाको छोरा शेखर कोइराला हार्दै हुनुहुन्थ्यो । यी सबै मानिसलाई ल्याउनुपर्ने जरुरत त थियो नि ? यी मानिसलाई ल्याएकोमा शेखर कोइरालाले विरोध गर्नुभएको छैन ।’

उनले भनेका छन्, ‘सिनियर नेता आएकोमा विरोध गर्नु हुँदैन । नारायण खड्का आउनुभएको छ । सबै साथीहरू मिलेर पार्टी चलाउनुपर्छ । अब शेरबहादुर देउवाले गुटको आधारमा होइन जुटको आधारमा राजनीति गर्नुपर्छ ।’

‘१३ जना केन्द्रीय सदस्य मनोनीत भएका छन् । पुरुषको हकमा ७/८ जना मनोनीत गर्न बाँकी छ’, खतिवडाले भने, ‘शेरबहादुर देउवाले सबै हारेका मात्रैलाई ल्याउन पनि गाह्रो छ । धेरै साथीहरू पराजित हुनुभएको छ ।’

उनले भनेका छन्, ‘योग्य मान्छेहरू ल्याउने विषयमा छलफल भइरहेको छ । पार्टीलाई आवश्यक्ता पर्ने साथीहरू आउनु हुन्छ । गुटको आधारमा शेरबहादुर देउवाले राजनीति गर्नु हुँदैन । मलाई किन विश्वास छ भने उहाँ दुई पटक पार्टी सभापतिमा हारेको मान्छे हो ।’

‘उहाँलाई हारेको अनुभव र पीडा पनि छ । जित्न पनि दुई पटक जित्नुभएको छ । उहाँ तेस्रो पटक सभापति हुने होइन’, उनले भने, ‘तेस्रो पटक सभापति नहुने हो भने गुटको राजनीति गर्नुपर्ने जरुरत देउवालाई छैन ।’

‘उहाँले पहिलो दिन नै भन्नुभएको छ, म सबैको सभापति हुँ । उहाँ सबैको सभापति भएर काम गर्नु हुन्छ’, केन्द्रीय सदस्य खतिवडाले भने, ‘गुटको सभापति बनेर कांग्रेस चल्दैन । कांग्रेसप्रति जनताको आशा र भरोसा जागेको छ ।’

उनले भने, ‘दुईतिहाइ बहुमत पाएका कम्युनिस्टले सरकार चलाउन नसकेर फेल भएका बेला हामी जम्मा २५ प्रतिशत भएको पार्टी कांग्रेस सरकारमा छ । सरकारको नेतृत्व पनि हामीले गरेका छौँ । यस्तो बेला गुटको राजनीति गर्ने होइन । एकताको सन्देश दिनुपर्छ ।’

‘हाम्रो र राम्रो मान्छेलाई ल्याएर पार्टीमा काम लगाउनुपर्छ । देउवाले गर्ने काममा शेखर कोइरालाको साथ रहनेछ’, उनले भने, ‘समान व्यवहार गरेर जाने काम सभापतिले गर्नुपर्छ । शेखरले पनि सहयोग गर्नुपर्छ ।’

‘म शेखर कोइरालाको सक्रियताप्रति सम्मान गर्दछु । उहाँको पार्टीप्रति लगानी र इमान्दारिताप्रति पनि धन्यावाद दिन चाहन्छु’, उनले भने, ‘चुनावी प्रतिस्पर्धामा हारजित हुन्छ । एकताको सन्देश लिएर हामी जाँदैछौँ ।’

नेता खतिवडाले कांग्रेसलाई बलियो बनाउने दायित्व शेखरको पनि रहेको बताएका छन् । उनले गुट र उप–गुटका भेला, बैठकहरू गर्दा राम्रो सन्देश नजाने बताएका छन् ।

Published : Wednesday, 2022 January 5, 10:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया