गगन थापाले अर्घाखाँची एमालेभित्र भूकम्प ल्याइदिए, ओलीको बालकोट दरबार हल्लियो

सन्धिखर्क । अर्घाखाँची जिल्लामा एमालेबाट पाणिनी गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् ।

सोमबार दुर्गाफाँटमा आयोजित कार्यक्रममा उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश गरेकी हुन् । एमाले नेतृ गौतमलाई महामन्त्री गगनकुमार थापाले कांग्रेसमा प्रवेश गराएका हुन् ।

उपाध्यक्ष गौतमसहित एमालेका पाँच सयभन्दा धेरै कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको अर्घाखाँची कांग्रेसका सभापति केशव श्रेष्ठले जानकारी दिएका छन् । माओवादी केन्द्रसहितका कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

एमालेको राजनीतिमा लामो समयसम्म सक्रिय रहेकी उपाध्यक्ष गौतम जिल्ला सदस्यसमेत भएकी थिइन् ।

स्थानीय तहको निर्वाचनमा शिक्षकबाट राजीनामा दिएर नेतृ गौतम एमालेबाट गाउँपालिका उपाध्यक्षमा विजयी भएकी हुन् ।

पाणिनी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका अच्युत गौतम निर्वाचित भएका थिए ।

कांग्रेस प्रवेश गरेकी गौतमले भनेकी छिन्, ‘मेरो विगतको पृष्ठभूमि एमाले भए पनि कम्युनिस्ट पार्टीमा विचलन आएकाले म कांग्रेसमा प्रवेश गरेकी हुँ ।’

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, सञ्जय गौतमलगायतका नेता उपस्थित थिए ।

कार्यक्रममा भाग लिन महामन्त्री थापा हेलिकप्टरबाट सोमबार काठमाडौंबाट अर्घाखाँची आएका थिए ।

अर्घाखाँची एमालेभित्र महामन्त्री थापाले भूकम्प ल्याइदिएपछि एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई तनाब भएको छ । बालकोटमा रहेका ओलीलाई अर्घाखाँचीमा एमाले कमजोर भएको भन्दै चिन्ता लागेको चर्चा भएको छ ।

यसैबीच, कांग्रेस महामन्त्री थापाले १४ औं महाधिवेशनपछि पार्टीभित्र गुट, उपगुटको अन्त्य भएको र अब विधिसम्मत पार्टी सञ्चालन हुने बताएका छन् ।

कांग्रेस पाणिनी गाउँपालिकाले दुर्गाफाँटमा आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै थापाले आउँदो तीन तहको चुनावको तयारी थाल्न कार्यकर्तालाई अनुरोध गरेका छन् । थापाले दुई तिहाइको बलियो कम्युनिस्ट सरकारलाई केपी ओलीको अहमताले सरकार ढलेको बताएका छन् ।

उनले भने, ‘आउँदो चुनावसम्म पार्टी प्रवेश गराएर १५ लाख पार्टी सदस्य बनाउनैपर्छ । चुनावपछि बहुमत सरकार बनाएर ५ वर्ष जनताको जीवनस्तर बदल्ने, विकास गर्ने, देश बदल्ने, अवस्था बदल्ने र जनतालाई ढुक्कसँग आफ्नै सरकार छ भन्ने गराउँछौं ।’

Published : Monday, 2022 January 3, 5:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया