अहिलेसम्म आन्तरिक प्रतिस्पर्धामा थियौँ, अब कम्युनिस्टसँग भिड्छौँ : केन्द्रीय सदस्य बिक

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् युवा नेतृ रुपा बिकले महाधिवेशनको प्रतिस्पर्धालाई भुलेर संगठन निर्माणमा जुट्नुपर्ने समय आएको बताएकी छिन् ।

रिपब्लिका दैनिकसँगको कुराकानीमा नेतृ बिकले नेतृत्वमा आउन विभिन्न समूह र प्यानल बनाएर प्रतिस्पर्धा गरे पनि महाधिवेशन सम्पन्न भएकाले अब कांग्रेस बनाउनुपर्ने बताइन् ।

‘कांग्रेसको नेतृत्वमा आउन हामीले प्यानल बनायौँ होला । समूह बनायौँ होला । गुट बनायौँ होला । अब हामी सबै कुरा भेलेर कांग्रेस बनाउन लाग्नुपर्छ’, उनले भनेकी छिन्, ‘तेरो वा मेरो भनेर होइन हाम्रो कांग्रेस भनेर संगठन निर्माणमा लाग्नुपर्छ ।’

शेरबहादुर देउवालाई सभापति बनाउन आफू लागेको बताएकी नेतृ बिकले भनेकी छिन्, ‘शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसलाई जिताउने हो । मिलेर कांग्रेस बनाउने हो ।’

तपाईलाई नेता कृष्णप्रसाद सिटौला समूहको नेता भनेर आरोप लाग्ने गरेको छ नि ? प्रश्नको जिज्ञासामा नेतृ बिकले भनेकी छिन्, ‘म कांग्रेस हुँ । कांग्रेसका सबै नेताको कार्यकर्ता हुँ । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, बालकृष्ण खाण, शशांक कोइराला, किशोरसिंह राठौर, जन्यजय मितिल्सिना सबैको कार्यकर्ता हुँ । साधारण कांग्रेसको पनि कार्यकर्ता हुँ ।’

आफूलाई केन्द्रीय कार्यसमितिमा ल्याउन गृह मन्त्री समेत रहेका नेता बालकृष्ण खाणको ठूलो योगदान रहेको उनले स्मरण गरेकी छिन् ।

‘म लुम्बिनी प्रदेशको कपिलवस्तुबाट केन्द्रीय समितिमा आएको छु । मलाई जिताउन देशभरिका प्रतिनिधिहरूको योगदान छ । सबैको नेता भएर काम गर्नुपर्छ’, नेतृ बिकले भनेकी छिन्, ‘पार्टी संगठन निर्माणमा बालकृष्ण दाईले हामीलाई दिने निर्देशन कार्यान्वयन गर्नुपर्छ भन्ने कुरा बुझेको छु ।’

देशभरिका युवाहरूको भावनालाई बुझेर अबका निर्वाचनमा कांग्रेसले कम्युनिस्टलाई हराउनु पर्ने उनले बताएकी छिन् । उनले भनेकी छिन्, ‘१४औँ महाधिवेशनमा हामी आन्तरिक प्रतिस्पर्धा गरेका थियौँ । अब कम्युनिस्टसँग प्रतिस्पर्धा हुन्छ ।’

Published : Monday, 2022 January 3, 1:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया