शेखर कोइरालाका मान्छेले नोबेलमा आतंक मच्चाएपछि विद्यार्थीको रुवाबासी, बसेर रमिता हेर्दै
विराटनगर । नेपाली कांग्रेसका नेता सुनिल शर्माको नोबेल मेडिकल कलेज विराटनगरले एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीमाथि ज्यादती गरेको छ ।
शर्माले अतिरिक्त शुल्क नबुझाएको भन्दै एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएका छन् ।
बिहीबार कलेज जान खोज्दा प्रशासनले सुरक्षा गार्ड र बाहिरी मानिसहरू परिचालन गरेर विद्यार्थीलाई प्रवेशमा रोक लगाएको छ ।
नोबेलमा पुस ११ गतेदेखि पठनपाठन शुरु भएको छ । कलेजले पुस ११ गतेबाट कक्षा सुरु गरेको छ । १२ र १३ गते सुरक्षा गार्ड राखेर अतिरिक्त शुल्क बुझाएपछि मात्रै कक्षामा प्रवेश दिने विद्यार्थीलाई जानकारी गराएका थिए ।
विद्यार्थी र अभिभावकले पुस ५ गते जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएर आन्दोलनसमेत गरेका छन् ।
कलेजले आयोगले तोकेभन्दा विपरीत पठनपाठन सुरु नै नगरी ४ लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएको छ ।
अभिभावक तथा विद्यार्थीले प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीदेखि जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएर न्यायका लागि अपील गरेका छन् ।
चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपियाँ शुल्क निर्धारण गरेको छ ।
कलेजका मालिक शर्मा अतिरिक्त २० लाख शुल्क बुझाउने सर्तमा हस्ताक्षर गराएपछि पढाउने पक्षमा छन् ।
शर्माले कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा शेखर कोइरालालाई जिताउन सक्रिय भूमिका खेलेका थिए ।
शर्माले शेखरका पक्षमा मत खसाल्न भन्दै महाधिवेशन प्रतिनिधिहरूलाई ठूलो रकम वितरण गरेको आरोप छ । शर्मालाई सम्पत्ति शुद्धीकरण विभागले समेत निगरानीमा राखेको छ ।
आफ्नै गृहजिल्ला मोरङमा शर्माको नोबेल मेडिकल कलेजले आतंक मच्चाउँदा पनि शेखर भने चुपचाप बसेका छन् । यो विषयमा बोलेका छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया