देउवाले १४औँ महाधिवेशन विपरितका कार्य गरेको पौडेल समूहको आरोप

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएर प्रक्रिया शुरु भइसकेको अवस्थामा सभापति शेरबहादुर देउवाले आचारसंहिता विपरितका गतिविधिहरू गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध जनाएको छ ।

बुधबार काठमाडौंको अनामनगरमा भएको भेलामा सहभागी नेताहरूले महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको अवस्थामा विभागहरू गठन, अनुशासन समितिबाट विरोधीलाई कारबाही, सक्रिय सदस्यता मनपरी वितरण लगायतका कार्य देउवाले गरेको आरोप लगाए ।

उनीहरूले आचारसंहिता र महाधिवेशनविरुद्धका गतिविधि नगर्न देउवालाई सचेत गराएका छन् ।

१४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको बेला तरुण, खेलकुद विभाग लगायतका विभागहरू विस्तार हुनुका साथै क्रियाशिल सदस्यता वितरणमा आफूखसी गरेपछि पौडेल समूह रिसाएको हो ।

पौडेल समूहले विभागहरू अहिले आएर गठन गर्नुलाई उपयुक्त मानेको छैन । कार्यतालिका सार्वजनिक हुनुभन्दा अगाडि नै गठन गर्नुपर्ने पौडेल समूहको भनाइ छ ।

अनुशासन समितिको नाममा विरोधीहरूलाई कारबाही गरेको पनि पौडेल समूहले देउवा समूहलाई आरोप लगाएको छ ।

पार्टीभित्रको विवाद समाधान गर्न र सभापति देउवाको मिचाह प्रवृत्ति रोक्न पौडेल समूहले माग गरेको छ ।

Published : Thursday, 2020 July 16, 8:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया