ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नेकपालाई गगनको सुझाव

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद गगन थापाले झण्डै दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेकपाभित्रको आन्तरिक किचलोमा कुर्सी जोगाउन योजनाबद्ध ढंगले अस्त्र उठाउँदै राजनीतिक स्टन्ट गरेको आरोप लगाएका छन् ।

कांग्रेसका युवा नेता थापाले मंगलबार ट्वीटरमा भनेका छन्, ‘प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले जे पनि बोल्ने’ प्रधानमन्त्रीको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाएँ । मेरो विचारमा यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनाबद्ध ढंगले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो ।’

प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिँदा भारतबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने हेक्का भए पनि त्यही आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफूलाई ‘कथित राष्ट्रवादी’बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रुपमा संवेदनशील विषयमा असंगत अभिव्यक्ति दिएको थापाले आरोप लगाएका छन् ।

थापा भनेका छन्, ‘यसले खड्गप्रसाद ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रस्ट पार्छ । आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने,प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ । यसलाई हल्का रुपमा नलिऔं । यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पूरा हुन नदिऔं ।’

कांग्रेस नेता थापाले प्रधानमन्त्री ओलीले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोलेको पनि आरोप लगाएका छन् ।

प्रधानमन्त्रीको अभिक्यक्ति प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आएको उल्लेख गर्दै थापा भन्छन्, ‘कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रधानमन्त्रीबाट न देश सुरक्षित छ न लोकतन्त्र । नेकपाका साथीहरू । राजनीतिक होइन भनेर नपन्छिनोस्, अब खड्गप्रसाद ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्नोस् ।’

प्रधानमन्त्री ओलीले रामजन्मबारे सोमबार दिएको अभिव्यक्तिप्रति नेपाल र भारतबाट टिकाटिप्पणी र आलोचना भएपछि पराराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाई राजनीतिक विषयसँग सम्बन्धित नभएको जनाएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग र कसैको भावनामा ठेस पुर्‍याउने आशयमा व्यक्त नभएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।

Published : Wednesday, 2020 July 15, 8:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया