काठमाडौंमा कार्यरत डीएसपी सिंह निलम्बित

काठमाडौं । खख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश सिंहविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले मंगलबार नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको अभियोगमा बहालवाला डीएसपी सिंहविरुद्ध मुद्दा दायर गरेको हो ।

डीएसपी सिंहले जिल्ला प्रशासन कार्यालय, बझाङबाट निकालेको नागरिकताको प्रमाणपत्रको जन्म मिति सच्याई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्रतिलिपि लिएको भन्ने उजुरी परेको थियो ।

नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाणपत्रहरूमा समेत उल्लिखित जन्म मिति सच्याई ढाँटी झुठ्ठा विवरण उल्लेख गरी सेवा प्रवेश गरेको देखिएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।

अख्तियारले उनीमाथि ६ महिनादेखि एक वर्षसम्म कैद र दश हजारदेखि बीस हजार रुपियाँसम्म जरिवानाको मागदाबी गरेको छ ।

सिंह हाल नेपाल प्रहरीको बालबालिका खोजतलास तथा समन्वय केन्द्र भृकुटीमण्डपमा कार्यरत छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका छन् ।

Published : Tuesday, 2020 July 14, 11:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया