यस्ता छन् मुसीकोटका बाढीपहिरोपीडितका समस्या, जोखिममा रात बिताउँदै

तम्घास । गुल्मी जिल्लामा हालै आएको बाढीपहिरोका कारण धेरै सर्वसाधारण घरवार विहीन भएका छन् भने पीडितहरूले दुई हप्तासम्म पनि आधारभुत सुविधा पाएका छैनन् ।

विभिन्न संघ संस्था र स्थानीयहरूको पहलमा खाद्यान्न पाए पनि शुद्ध पिउने पानी, शौचालय, स्वाथ्य जस्ता आधारभुत सुविधाबाट बञ्चित भएका हुन् । स्थानीय निकाय, स्थानीय प्रशासन र समाज सेवी संघ–संस्थाले सहयोग गरे पनि पर्याप्त सहयोग नगरेको पीडितहरूको गुनासो छ ।

मुसीकोट नगरपालिकाको १, २ र ३ नम्बर वडाका सर्वसाधारण बाढीपहिरोबाट पीडित भएका थिए ।

वडा नम्बर २ सबैभन्दा धेरै बाढीपहिरोबाट समस्यामा परेका छन् । राहत वितरणका क्रममा मुसीकोट आएका राजनीतिक विश्लेषक परशुराम घिमिरेका अनुसार बाढीपहिरो पीडितहरूले सामान्य रुपमा खाद्यान्नसहितका सहयोग पाए पनि उनीहरूको बासस्थान र आधारभुत सुविधामा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘शिक्षा, स्वास्थ्य, शौचालय, शुद्ध पिउने पानी, बालबालिकालाई पौष्टिक आहार लगायतमा हामीले ध्यान दिनुपर्छ ।’

स्थानीयहरूले पनि सुरक्षित स्थानमा आफूहरूको व्यवस्थापन गर्न माग गरेको घिमिरेले बताएका छन् । घिमिरेले बाढीपहिरोका कारण समस्यामा परेका सर्वसधारणहरूसम्म पुग्न समेत कठिनाइ रहेको बताए ।

मुसीकोट नगरपालिकामा गएको बाढीपहिरोबाट हजारौँ रोपनी खेतीयोग्य जमीन बसोबास र खेती गर्न नसकिने गरेर क्षति भएको छ ।

मुसीकोटको वडा नम्बर २ मा दुई सय सर्वसाधारण प्रभावित भएका छन् । बीस परिवार विस्थापित नै हुनु परेको छ । अपाङ्, महिला, दलित र बालबालिकाको अवस्था झन् समस्यामा देखेको घिमिरेले बताए ।

मुसीकोट नगरपालिका घर भइ हाल काठमाडौंमा बस्दै आएका घिमिरेले भने, ‘बाढीपहिरो पीडितहरूलाई छिटो उद्धार नगर्ने हो भने मानसिक रोगको समस्या देख्न सकिनेछ ।’

 

Published : Tuesday, 2020 July 14, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया