कांग्रेसका खतिवडाले भने, ‘लकडाउनको बिकल्प खोइ ओलीज्यू ? बेतुकका लाचार कुरा गर्ने ?’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद छललेर बालुवाटारबाट बेतुकको सम्बोधन गरेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार आफ्नो सरकारी निवास बालुवाटारबाट देशबासीका नाममा सम्बोधन गरेका थिए । ओलीको सम्बोधनमाथि टिप्पणी गर्दै खतिवडाले भने, ‘ओलीजीको देशबासीको नाममा गरिएको सम्बोधनबाट प्रधानमन्त्री स्वस्थ्य हुनुहुन्छ भनेर जानकारी पायौँ । त्योभन्दा अरु नयाँ कुरा केही छैन । जनताका लागि आशा गर्ने ठाउँ छैन ।’

संसदको बैठक बस्नुभन्दा केही घण्टा अगाडि ओलीले देशबासीका नाममा सम्बोधन गर्नुभन्दा मंगलबारको संसदको बैठकबाट सम्बोधन गरेको भए अत्यन्तै उचित हुने कांग्रेस नेता खतिवडाले बताए ।

‘मंगलबार संसदको बैठक बस्दै थियो । प्रधानमन्त्रीले संसदबाट बोलेको भए अति उत्तम हुनेथियो’, उनले भने, ‘ओलीज्यूले सधैँ संसदलाई छल्न खोज्नु हुन्छ । आज पनि संसदलाई छल्न बालुवाटारबाटै सम्बोधन गर्नुभयो ।’

प्रधानमन्त्री ओलीको सम्बोधनमा कुनै पनि नयाँ कुरा नरहेको भन्दै खतिवडाले लकडाउनबाट समस्यामा परेका जनतालाई राहत दिने ठोस कुरा केही पनि नगरिएको टिप्पणी गरे । ‘लकडाउनबाट समस्यामा परेका सर्वसाधारणहरूका बारेमा ठोस कुनै पनि कार्यक्रम आएन’, उनले भने, ‘जनता भोकले मर्न थाले ओलीजीले राहतको कुरा गोलमटोल गर्नु हुन्छ । यसरी भोका जनताको पेट भरिदैन ।’

भारतबाट स्वदेश आएका नेपालीहरूको स्वास्थ्य परीक्षण गर्न नसकिएको भनेर ओलीले गैरजिम्मेवारी र लाचार कुरा गरेको कांग्रेस नेता खतिवडाले आरोप लगाए । ‘भारत वा जहाँबाट आए पनि आफ्ना नागरिकहरूको स्वास्थ्य सुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्छ’, उनले भने, ‘हामीले स्वास्थ्य परीक्षण गर्न सकेनौँ । झन् समस्या हुने भयो भनेर ओलीजी भाग्न पाउनु हुन्न ।’

खतिवडाले भने, ‘औषधि छैन । समस्या भएको छ । क्वारेन्टाइनको अवस सुधार गर्छौ भनेर अहिले आएर भन्ने हो ? लकडाउन भएको दुई महिना भइसक्यो । अहिलेसम्म के हेरेर बस्नुभयो प्रधानमन्त्री ओलीज्यू ?’ ओलीलाई जनतालाई कोरोना भाइरस र लकडाउनलाई देखाएर सत्तास्वार्थमा केन्द्रित भएको हो कि भनेर प्रश्न उठ्न थालेको बताए ।

कांग्रेस नेता खतिवडाले दुई महिनाको लकडाउनको बिकल्पका बारेमा समेत ओलीले आफ्नो सम्बोधनमा स्पष्ट भन्न नसकेको बताए । उनले भने, ‘कोरोनाबाट कति जनताको मृत्यु भयो भनेर जानकारी नहुने प्रधानमन्त्रीबाट अब के आशा राखौँ ?’

कोरोना भाइरसबाट सोमबारसम्म चार जनाको मृत्यु भएको छ । सम्बोधनका क्रममा ओलीले जम्मा तीन जनाको मात्रै मृत्यु भएको भनेर जानकारी दिएका थिए ।

Published : Monday, 2020 May 25, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया