बुधबार २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । बुधबार २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा थप २५ जनामा कोरोना भाइरसको पुष्टि भएको जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना संक्रमित थपिएको छ ।

२५ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । संक्रमितमा ३ देखि ४८ वर्ष उमेरसम्मका रहेका छन् भने त्यसमा ७ जना महिला र १८ जना पुरुष रहेका छन् ।

बाँकेमा ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । १७, २०, २८, ३०, ४० वर्षका उनीहरु नरैनापुरका हुन् । खजुराका २७ वर्षीय पुरुष रहेका छन् ।

धनकुटामा ५ जना नयाँ संक्रमित पुष्टि भएको छ । उनीहरू २८, २९, ३५ र ३७ वर्षीय पुरुष रहेका छन् । एक जना २४ वर्षीया महिला रहेकी छन् । उनीहरू सबै हाल धनकुटामा बस्दै आएको देवकोटाले बताए ।

कपिलवस्तुमा १३ जना संक्रमित थपिएका छन् । ३ जना २२, ३५ र ४८ वर्षीय पुरुष रहेका छन् । उनीहरू विजयनगरको क्वारेन्टानमा बस्दै आएकाहरू भएको प्रवक्ता डा.देवकोटाले बताएका छन् ।

कपिलवस्तु जिल्लाको महाराजगञ्ज गाउँपालिकाका ३, ४, ६ वर्षीया बालिका तथा १६, २५ र ३२ वर्षीय महिला गरी ६ जना पुष्टि भएका छन् ।

१२, २२, २४ र ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासीमा १ जना पुरुष संक्रमित फेला परेका छन् । उनी सुस्ता गाउँपालिका ५ का २६ वर्षीय पुरुष रहेका हुन् ।

कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या ४५ पुगेको छ । दुई जना संक्रमितको मृत्यु भएको छ ।

Published : Wednesday, 2020 May 20, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया