भारतद्वारा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको नेरु. ३.६७४ करोड आर्थिक सहयोगमा चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको एप्रोन ढुङ्गे खोला नदी तालिम कार्यको तटबन्ध र शुभारम्भ परियोजनाको उद्घाटन गरिएको छ ।

शुक्रबार खैरहनी नगरपालिकाका मेयर शशिकुमार खनिया र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रुपमा परियोजनाको उद्घाटन गरेका हुन् ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग स्थानीय समुदायका मानिसहरुका लागि भनेर चितवनको खैरहनी नगरपालिकामा पर्ने ढुङ्ग्रे खोलामा तटबन्ध र खोलाको बहावलार्ई नियमन गर्न एवम् नियन्त्रणमा राख्न खोलाकिनारा वरपर बनाइने संरचनाको निर्माणमा उपयोग गरिएको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको छ । यो परियोजना चितवनको खैरहनी नगरपालिकामार्फत कार्यान्वयन गरिएको छ ।

परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तको रुपमा रहेको छ ।

बोल्दै खैरहनी नगरपालिकाका मेयर र परियोजना उपभोक्ता समितिका प्रतिनिधिले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका छन् ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणले खेतीयोग्य जमिनको कटान, वनफँडानी, अनियन्त्रित खोलाको बहाव, बाढीका कारण स्थानीयले बारम्बार आफ्नो थातथलो छोड्नुपर्ने बाध्यता रोकिनुका साथै नदीको गतिसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न र प्राकृतिक विपदविरुद्घ जुझ्न, पूर्वतयारी गर्न र सहनशील बन्न मद्दत गर्नेछ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४८९ वटा परियोजना सम्पन्न गरिसकेको छ ।

यीमध्ये बागमती प्रदेशका विभिन्न क्षेत्रमा १०६ वटा परियोजना रहेका छन् जसमा ९ वटा परियोजना चितवनमा छन् । भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।

बागमती प्रदेशलाई २३६ वटा एम्बुलेन्स र ९९ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा १७ वटा एम्बुलेन्स र ५ वटा स्कुल बस चितवन जिल्लालाई उपलब्ध गराइएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि नेपालको प्राथमिकताको क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

Published : Friday, 2024 April 26, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया