दक्षिणी सीमा सुरक्षा गर्न सेनामा मधेसी भर्ना गरेर जिम्मेवारी दिउँः कांग्रेस नेता शाह

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद एवम् केन्द्रीय सदस्य अभिशेषप्रताप शाहले भारतसँग जोडिएको दक्षिणी सिमानाको सुरक्षाका लागि मधेसी जनतालाई दिनुपर्ने बताएका छन् ।

सांसद शाहले नेपाल–भारतको सिमाना सुरक्षाका लागि मधेसीहरूलाई नेपाली सेनामा भर्ना गरेर सीमा सुरक्षाका लागि पठाउनुपर्ने बताएका हुन् ।

‘तराईसँग सीमा जोडिएको नेपाल–भारतको भूमिको रक्षा मधेसीहरूलाई नै दिनुपर्छ’, उनले भनेका छन्, ‘सेनामा मधेसीहरूलाई भर्ना गर्ने अनि उनीहरूलाई दक्षिणी सिमाना सुरक्षाका लागि पठाउने ।’

गृह मन्त्रालयले पछिल्लो केही वर्षयता तराईका जिल्लाहरूमा मधेसी मूलका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख बनाएर पठाउने गरेको छ ।

सोहीअनुसार नै मधेसीहरूलाई सीमा सुरक्षका लागि खटाउँदा भारतले अतिक्रमण गर्न नपाउने कांग्रेस नेता शाहको भनाइ छ ।

भारतले पछिल्लो समय नेपाली भूमि अतिक्रमण गरेर हैरान बनाइरहेका बेला कांग्रेस नेता शाहले सेनामा मधेसीहरूलाई भर्ना गरेर सीमा सुरक्षामा पठाउन प्रस्ताव गरेका छन् ।

Published : Wednesday, 2020 May 20, 2:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया