सत्ताको मात लाग्यो कम्युनिस्टहरूलाई, कांग्रेस नेताहरू घाइते
नुवाकोट । नुवाकोट जिल्लामा नेपाली कांग्रेस र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्तावीच हानाहान भएको छ ।
लिखु गाउँपालिका–५ धमिलेबोट दोबाटोबाट छहरेदेखि ककनीसम्म जाने बाटो निर्माणका लागि उपभोक्ता समिति गठन गर्न बसेको बैठकमा विवाद हुँदा नेकपा र कांग्रेसका कार्यकर्तावीच हात हालाहाल भएको हो ।
नेपाली कांग्रेस नुवाकोटका अनुसार शान्तिपूर्ण रुपमा बैठक बसिरहेका बेला नेकपाका कार्यकर्ताहरूले धारिलो हतियार प्रहार गरेर कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई घाइते बनाएका छन् ।
झडपमा घाइते भएका मध्ये दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार टाउकोमा गम्भीर चोट लागेका लिखु गाउँपालिका–५ धमिलेबोटका नेपाल तरुण दल थानसिङ ईकाइ अध्यक्ष २८ वर्षीय निर्भिक पाठकलाई काठमाडौं पठाइएको छ ।
सोही ठाउँका २५ वर्षीय परशुराम श्रेष्ठको दाँत झरेको र मुखमा चोट लागेको छ । विदुर नगरपालिका–४ का ३७ वर्षीय डोलबहादुर मगरको टाउकोमा चोट लागेको छ । घाइते उनीहरूको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया