उखु किसानको रकम भुक्तानी गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले किसानले आफ्नो उखु विक्री गरे वापत रकम भुक्तानी नपाएकोप्रति संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मंगलबार विज्ञप्ति जारी गरेर चिनी उद्योगबाट लामो सयमसम्म रकम भुक्तानी नपाउँदा गरिब किसान र श्रमिक मर्कामा परेको जनाएका छन् ।

‘समयमै रकम भुक्तानी नपाउनुले किसान माथि अन्याय भएको छ’, उनले भनेका छन्, ‘यस विषयप्रति सरकार एवं सम्बन्धित सबै पक्ष गम्भीर हुनु जरुरी छ ।’

‘उखु विक्री वापत पुराना तथा नयाँ भुक्तानी उपलब्ध गराउने विषयमा पटक–पटक सरकारी निकायको रोहबरमा किसान र उद्योगी बीच सहमति भएता पनि हालसम्म कार्यान्वयन नहुनु अत्यन्त दुःखद् पक्ष हो’, खाँणले विज्ञप्तिमा भनेका छन्, ‘उखु किसानले आफ्नो उत्पादन विक्रीको भुक्तानीका लागि काठमाडौंसम्म आएर आन्दोलन गर्नुपर्ने बाध्यता सृजना भएको छ ।’

‘उक्त आन्दोलनमा उठाइएका मागप्रति नेपाली कांग्रेस संसदीय दलको पूर्ण समर्थन रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखि ध्यानाकर्षण गराउँदा पनि उक्त विषयमा सरकार उदासिन हुनु, लज्जास्पद विषय हो ।’

‘अतः आन्दोलनमा रहेको किसानका मागहरूलाई तत्काल सम्बोधनका लागि सरकारले विशेष पहल गर्न तथा आवश्यक प्रकृया अगाडि बढाउनका लागि नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ’, नेपाली कांग्रेसका प्रमुख सचेतक खाँणले भनेका छन् ।

उखुको पाउनुपर्ने पैसा माग गरेर किसानहरूले काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।

Published : Tuesday, 2019 December 31, 3:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया