कांग्रेसको १४औँ महाधिवेशन फागुनको पहिलाे हप्ता

काठमाडौं । नेपाली कांग्रेसले विधानको धारा ४३ बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि एक वर्ष थप गर्दै १४ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ०७६ फागुन २० गतेदेखि लागू हुने गरी ०७७ फागुन १९ गतेसम्म एक वर्षका लागि थप गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । एक वर्ष म्याद थप गर्ने पार्टीको निर्णय निर्वाचन आयोगलाई जानकारी दिने नेपाली कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा पार्टीका विभिन्न तहका सांगठनिक संरचनाको अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न गर्न तयार गरिएको कार्यतालिका कार्यान्वयनका लागि नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ७१ र ५० (५) बमोजिमको अधिकार प्रयोग गरी यसै विधानका देहाय बमोजिमका व्यवस्थालाई पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागू हुने गरी निलम्वन गर्ने निर्णय भएको छ ।

‘यस निर्णयलाई पार्टीको आगामी महासमिति वा महाधिवेशनबाट अनुमोदन गराइनेछ’, विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेस पार्टी संगठनको अन्तरिम संरचनाको समायोजन पश्चात क्रियाशील सदस्यता वितरण, नवीकरण गरी पार्टीको विधान र नियमावली अनुसारका आवश्यक प्रक्रिया पु¥याई देहाय बमोजिमको मितिमा देहाय बमोजिमका कार्य सम्पन्न गरी पार्टीका मातहत निकायका अधिवेशन र चौधौ महाधिवेशन सम्पन्न गर्नको लागि प्रस्तुत कार्यतालिकालाई अनुमोदन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि– ०७६ पुस मसान्तभित्र गरिसक्ने नेपाली कांग्रेसले जनाएको छ ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गरी सक्ने अवधि – २०७६ माघ देखि २०७७ वैशाख मसान्तसम्म तोकिएको छ ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि – २०७७ जेठ १ गतेदेखि असार १५ गतेभित्र गर्ने निर्णय कांग्रेसले गरेको छ ।

नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अवधि –२०७७ असार १६ गतेदेख असार मसान्तभित्र गर्ने उल्लेख छ ।

उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ साउन १५ गतेभित्र गरिनेछ ।

क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी पुनरावेदन दिइसक्नु पर्ने अवधि –२०७७ श्रावण १५ गतेदेखि साउन मसान्तसम्मको समय उल्लेख छ ।

उजुरी, पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ भदौ मसान्तभित्र गर्नुपर्ने उल्लेख छ ।

नयाँ क्रियाशील सदस्यता र क्रियाशील नवीकरणको नामावलीको अन्तिम सूची तयार गरिसक्नु पर्ने अवधि –२०७७ आश्विन मसान्तसम्म गरिनेछ ।

गाउँ, नगर वडा अधिवेशन– २०७७ मंसिर ९ गते, गाउँ, नगरपालिका अधिवेशन– २०७७ मंसिर ११ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ मंसिर १५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन – २०७७ मंसिर १७ गते, जिल्ला अधिवेशन – २०७७ मंसिर २५ गते, प्रदेश अधिवेशन– २०७७ पुस १५ गते, केन्द्रीय महाधिवेशन ०७७ फागुन ७, ८, ९ र १० गते काठमाडौं गर्ने विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2019 December 27, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया