काण्डकारी सचिवलाई बारा प्रहरीले पक्राउ गर्‍यो

पथलैया । जिल्ला प्रहरी कार्यालय बाराले सरकारी कागज कीर्ते गर्ने वडा सचिवलाई पक्राउ गरेको छ ।

प्रहरीले पचरौता नगरपालिका वडा नम्बर ४ र ५ का वडा सचिव प्रभु पण्डितलाई पक्राउ गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

सचिव पण्डितले ०५८ सालमा जन्म भएका अभियुक्तलाई ०६० सालमा जन्म भएको भनि किर्ते कागज बनाइदिएपछि बारा प्रहरीले पक्राउ गरेको हो ।

बाराको पचरौता नगरपालिका वडा नं. ४ स्थित सडकमा कमला यादव (नाम परिर्वतन)लाई वडा नं.५ बस्ने रामसागर महतो नुनियाका छोरा वर्ष १८ का सोहन भन्ने जितेन्द्र महतो नुनियाले नजिकैको बगैचामा लगेर जर्बजस्ती करणी गरेको बारा प्रहरी प्रमुख एसपी विकास खनालले बताए । नुनियाले ती युवतीलाई बाटो छेकेर जबरजस्ती करणी गरेका थिए ।

अभियुक्त नुनियालाई ०७६ मंसिर ५ गते प्रहरीले पक्राउ गरेको थियो । बारा जिल्ला अदालतमा पुस १ गतेको आदेशले हाल मुद्दा पुर्पक्षको सिलसिलामा कारागार कार्यालय वीरगञ्ज थुनामा रहेका घटनामा अभियुक्तलाई फाईदा तथा पीडितलाई हानी, नोक्सानी पुर्‍याउने नियतले पचरौता नगरपालिका वडा नं. ४ र ५ का वडासचिव प्रभु पण्डितले ०५८ सालमा जन्म भएका अभियुक्तलाई ०६० सालमा जन्म भएको भनि कीर्ते कागज तयार गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Published : Thursday, 2019 December 26, 10:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया