डिआईजीका लागि प्रचण्डको घर धाउँदै आईजीपी

काठमाडौं । कुनै समय यस्तो थियो कि, एआईजी छँदा शैलेन्द्र खनाल दिनहुँजसो तत्कालीन माओवादी केन्द्र तथा हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि चक्रपाणि खनाल, वर्षमान पुनलगायतका नेताहरूको घर पुग्ने गर्दथे ।

आईजीपी बन्नका लागि त्यति बेला खनाल खुलमखुल्ला नेताका घरदेखि भारतीय दूतावाससम्म पुगेको समाचार सर्वत्र छाएको थियो । खनाल आईजीपी बनेपछि पनि प्रचण्डको घर धाउन भने छाडेका छैनन् ।

तर, अहिलेको समयमा भने उनी आफ्नो लागि नभई आफू निकटका डिआईजीहरुका लागि प्रचण्डको घर धाउने गरेका हुन् । केही दिनअघि आईजीपी खनाल डिआईजीहरूलाई लिएर प्रचण्ड निवास पुगेपछि सशस्त्रमा सनसनी मच्चिएको छ ।

आईजीपी खनाल आफू निकट डिआईजीहरूको जागिरको अबधि लम्ब्याउनका लागि प्रचण्डकहाँ पुगेका हुन् । केही डिआईजीले जागिर अवधि ६ वर्ष बनाउन सशस्त्र प्रहरी नियमावली संशोधन गराउने चलखेल अघि बढाएपछि खनालले पनि त्यसलाई साथ दिएका हुन ।

सेवा अबधि ५ वर्ष पूरा गरेर अवकाश पाउन लागेका सशस्त्र प्रहरीका तीन डिआईजीहरू सुरज श्रेष्ठ, बाबुराम पाण्डे र अरबिन्द्र धितालले नियमावली संशोधन गरेर आफ्नो जागिर लम्ब्याउन खोजेका छन् । डिआईजीको पाँच वर्षे पदावधिका कारण आगामी साता उनीहरूले अनिवार्य अवकाश पाउँदैछन् ।

नियमावली संशोधन गर्दा गलत नजिर बस्ने र तल्लो तहका प्रहरीको करिअरमा असर पर्ने भन्दै गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईले प्रस्ताव नै अगाडि नबढाएपछि आईजीपी खनालको योजना असफल भएको छ ।

आईजीपी खनालले प्रचण्डमार्फत मन्त्री र सचिवलाई दबाब दिन थालेको पनि गृह स्रोतको भनाई छ । आईजीपी खनालका विश्वासपात्र डिआईजी सुरज श्रेष्ठका लागि यो सब नाटक गरिएको असन्तुष्ट एक प्रहरी अधिकारीले बताए । सशस्त्रमा सरुवा, बढुवा, टेण्डर र विदेशमा तालिममा पठाउँदा डीआईजी श्रेष्ठमाथि भ्रष्टाचार गर्ने गरेको आरोप लागेको छ ।

सशस्त्रका भण्डार, बजेट, लेखा, प्रबन्ध सबैतिर खनाल र श्रेष्ठले आफ्ना निकट एसपी, डीएसपीहरू राखेर खरिदमा ब्रम्हलुट मच्चाउँदै आएका छन् । आईजीपी खनाल श्रेष्ठलाई एआइजी बढुवा गरी आईजीपी बनाउने दाउमा १ वर्षदेखि रातदिन लागेका थिए ।

तर, ७७ हजार सख्या भएको नेपाल प्रहरीमा ३ एआइजी मात्र हुँदा भएको छ । ३७ हजार मात्र भएको सशस्त्रमा तीन एआइजी छन् । गृह मन्त्रालयले थप आवश्यक नभएको बताएपछि दरबन्दी थपको प्रयास असफल भयो ।

आफ्ना विश्वासपात्र डिआईजीको बढुवा नहुने भएपछि आईजीपी खनाल नियमावली परिवर्तन गरी १ वर्ष थप गर्न लागेका छन् । त्यसको लागि खनाल र श्रेष्ठको टोली सामदाम समेत जे–जे गर्नुपर्छ गर्दै बुधबार बिहानैदेखि दौडधुपमा छ ।

प्रचण्डकोमा कुरा मिलिसकेको हुँदा नियमावली परिवर्तन हुने भयो भन्दै उनीहरूले ढुक्क भएर बसेको सशस्त्र स्रोत बताउँछ । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)

Published : Thursday, 2019 December 26, 9:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया