अफ्ठ्यारोमा पारे कांग्रेसका बद्री पाण्डेले कम्युनिस्ट सरकारलाई

काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले भारतको अतिक्रमणमा परेको नेपाली भू–भाग फिर्ता गराउने सम्बन्धमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले मौनता साँधेको भन्दै आलोचना गरेका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेस सांसद पाण्डेले भारतले सीमा मिचेको कुरालाई लिएर प्रधानमन्त्री ओलीले आवश्यक पहल नगरेको आरोप लगाए ।

उनले विगतमा भारतले नाकाबन्दी गर्दा चर्को आलोचना गर्ने प्रधानमन्त्री सीमा मिच्दासमेत मौन रहेको भन्दै आलोचना गरेका छन् ।

सांसद पाण्डेले सुगौली सन्धिले निर्धारण गरेको सीमा कायम हुनुपर्ने विषयलाई सरकारले अडानका रूपमा राख्न नसकेको बताए ।

सीमा सुरक्षा र अतिक्रमणमा परेको भूमि फिर्ता गर्ने सम्बन्धमा भएका प्रयासबारे सदनलाई जानकारी गराउन पनि सरकारसँग उनले माग गरेका छन् ।

‘प्रधानमन्त्रीले के गरिरहनु भएको छ ? परराष्ट मन्त्रालयले के गरिरहेको छ ? सरकारका अन्य निकायहरूले के गर्दैछन्’, उनले भने, ‘ यो समस्या कसरी समाधान हुन्छ ?’

‘हामी नेपालीहरू स्पष्ट छौँ । कसैको हामीले के ईञ्च जग्गा मिच्नु पनि छैन’, सांसद पाण्डेले भनेका छन्, ‘नेपालको एक ईञ्च जग्गा दिनु पनि छैन ।’
कालापानीलगायत क्षेत्र नेपालको भएको कुरा सरकारले भारतसँग राख्न नसकेको पनि पाण्डेको भनाइ थियो ।

‘सुगौली सन्धिले निर्धारण गरेको सीमा कायम हुनुपर्छ भन्ने कुरा दृढताका साथ हामी किन राख्न सकिरहेका छैनौँ ?’, उनले भने, ‘यसको जवाफ प्रधानमन्त्रीले सदनमा आएर दिनुपर्छ । भारतसँग पनि यो समस्या समाधानका लागि तत्काल अग्रसरता लिनुपर्छ ।’

भारतले राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको ४ सय वर्ग किलोमिटर भूमि मिच्ने काम भएको दाबी गर्दै नेपाली कांग्रेसका सांसद पाण्डेले सीमामाथि धावा बोल्ने काम हुँदा पनि सरकार मौन बसेकोमा आक्रोश पोखेका थिए ।

उनले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले भ्रष्टाचारमा कीर्तिमान कायम गरेको पनि आरोप लगाएका छन् ।

Published : Monday, 2019 December 23, 7:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया