जनताकाे सुरक्षालाई लिएर चिन्तित बने मन्त्री राई, दिए ठूलाे नोक्सानी हुने चेतावनी

काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले जोखिमयुक्त भौतिक संरचना निर्माणमा स्थानीय सरकार जिम्मेवार रहेको दावी गरेका छन् ।

स्थानीय सरकारले आफ्नो अधिकारको गलत प्रयोग गरी असुरक्षित संरचना निर्माण गर्न दिइरहेको मन्त्री राईको आरोप छ ।

नागरिक एकता समाजले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले केन्द्र सरकारको नियम कानूनलाई उलंघन गरी स्थानीय सरकारले शहरलाई नै असुरक्षित र जोखिमयुक्त बनाउने काम गरिरहेको बताए ।

‘०७२ सालको बिनाशकारी भूकम्पपछि संघीय सरकारले भवन सम्बन्धी मापदण्डलाई कडाई गरेको छ’, उनले भने, ‘स्थानीय सरकारले केन्द्र सरकारको नियम कानूनलाई अटेर गरी आफ्नो अनुकूल स्वीकृति दिँदा अहिले पनि शहरमा जोखिमयुक्त र असुरक्षित भवन बन्दैछन् ।’

भवनसम्बन्धी मापदण्डको पालनामा नागरिक पनि जिम्मेवार हुनुपर्ने मन्त्री राईको भनाई छ । उनले कतिपय कानूनको अभाव र अधिकार क्षेत्रको बाँडफाँड किटान नभएका कारण पनि स्थानीय सरकारको गलत अभ्यासलाई केन्द्र सरकारले रोक्न नसकेको गुनासो गरे ।

स्मार्ट सिटी र मेघा सिटीको अवधारणलाई मन्त्रालयले ठोस रुपमा अघि बढाउन लागेको जानकारी उनले दिए ।

विगतका सरकारले हचुवाको भरमा स्मार्ट सिटी र मेघा सिटी घोषणा गरेका कारण लामो समयसम्म कामअघि बढन नसकेको भन्दै मन्त्री राईले निश्चित मापदण्ड र सूचकहरू बनाएर मन्त्रालयले नयाँ शहर विकासको कामलाई तिव्रता दिएको दावी गरे ।

कार्यक्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा.भाइकाजी तिवारीले शहरको विकास गर्नेभन्दा पनि घडेरीको विकास गर्ने गलत सोँचका कारण समस्या देखिएको बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर योगदान पुर्‍याउने १८ जनालाई सम्मान गरिएको थियो ।

Published : Sunday, 2019 December 22, 5:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया