मानेभञ्ज्याङलाई अति प्रभावित गाउँपालिकामा राख्न स्थानीयको माग

ओखलढुंगा । दुधकोशी जलासययुक्त जलविद्युत् आयोजनाले ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकालाई अति प्रभावित क्षेत्रमा राख्न स्थानीयले माग गरेका छन् ।

स्थानीयहरूले मानेभञ्ज्याङ गाउँपालिकालाई दुधकोशी जलासययुक्त जलविद्युत् प्रभावित क्षेत्रमा राखेर दिनुपर्ने सेवा सुविधा उपलब्ध गराउन माग गरेका हुन् ।

मानेभञ्ज्याङ गाउँपालिकाका स्थानीय एवम् नेपाली कांग्रेसका कार्यकर्ता हुकुम राईले जलविद्युत् आयोजनाबाट पूरै गाउँपालिका प्रभावित भएको बताए । उनले गाउँपालिकालाई अति प्रभावित क्षेत्रमा नराखिए जस्तो सुकै आन्दोलन गर्न स्थानीयहरू तयार रहेको बताए ।

‘यो आयोजनाले मानेभञ्ज्याङ गाउँपालिकाको ३० किलोमिटरसम्मको भौगोलिक क्षेत्रलाई प्रभावित बनाउँछ’, उनले भने, ‘वडा नम्बर १, २, ३, ५ र ६ अति प्रभावित वडाहरू हुन् ।’

विद्युत् आयोजनाले मानेभञ्ज्याङ गाउँपालिकाका जनतालाई हेपेर प्रभावित क्षेत्रमा राखेको छैन ।

मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष मोतीराज राईले दुधकोशीको जलविद्युत् आयोजनाले गाउँपालिका पूरै प्रभावित हुने बताए ।

‘जिल्लाको विकासमा यो जलविद्युतले ठूलो टेवा पु¥याउँछ । हामीले यसलाई सहयोग गर्नुपर्छ’, उनले भने, ‘मानेभञ्ज्याङ गाउँपालिकालाई नै प्रभावित बनाउने । अनि प्रभावितको सेवा सुविधा दिन अस्वीकार गर्ने कार्य हाम्रा लागि मान्य छैन ।’

गाउँपालिकाका अध्यक्ष राईले मानेभञ्ज्याङलाई जलविद्युत् आयोजना अति प्रभावित क्षेत्रमा राखेर स्थानीय जनतालाई सेवा सुविधा दिन माग गरेका छन् । अन्यथा आन्दोलनमा उत्रनुपर्ने राईको चेतावनी छ ।

दुधकोशी जलासययुक्त जलविद्युत् आयोजनाले मानेभञ्ज्याङका स्थानीयबासिन्दा, पशुपंक्षी र गाईवस्तुहरूले खानेपानीको ठूलो समस्य भोग्नुपर्ने अवस्था आउन लागेको स्थानीयको भनाइ छ ।

जलासलयले दुधकोशी वरिपरिको सम्पूर्णवस्ती उच्च जोखिममा पर्ने सम्भावना रहेको छ ।

कुनै कारणले ड्याम फुट्यो भने मानेभञ्ज्याङ क्षेत्र नै बगाउने सम्भावना उच्च रहेको भन्दै स्थानीयले अति प्रभावित क्षेत्र घोषणा गर्न माग गरेका छन् ।

मानेभञ्ज्याङ गाउँपालिकाको वडा नम्बर ६ को वडा प्रमुख हेमराज राईले जलासययुक्त जलविद्युत् आयोजनापछि गाउँपालिकाको क्षेत्रभित्र रहेको गिटी, बालुवा र ढुङ्गा लगायतका सम्पूर्ण प्रकृतिक श्रोतसाधनको मुहान बन्द हुने बताएका छन् । उनले आयोजनाका कारण गाउँपालिकालाई हुने ठूलो क्षतिको बारेमा सरोकारवाला निकायले ध्यान दिन आग्रह गरेका छन् ।

Published : Saturday, 2019 December 21, 5:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया