बालुवाटारको जग्गा किनेका महासचिव पौडेल रातारात विदेश उडे

काठमाडौं । बालुवाटारको सरकारी जग्गा छोराको नाममा खरिद गरेका कारण छानविनको दायरामा परेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल चीन उडेका छन् ।

महासचिव पौडेल शनिबार राति चीन प्रस्थान गरेको नेकपाका सचिवालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् । महासचिव पौडेल चीन प्रस्थान गरेको तस्बिर श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।

चीनस्थित एक विश्व विद्यालयको कार्यक्रमलाई उदघाटन गर्न पौडेल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कार्यक्रममा महासचिव पौडेलले प्रमुख अतिथिको रुपमा सहभागिता जनाउनेछन् ।

पौडेलले त्यहाँ रहँदा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसगँ पनि भेटघाट गर्ने कार्यक्रम छ ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको कार्यकालका बेला पौडेलले शक्तिको दुरुपयोग गरेर ललितानिवासको जग्गा भूमाफियासँग मिलेर हडपेको समाचारहरू आइरहेका छन् ।

महासचिव पौडेलले आफ्ना छोरा नवीन पौडेलको नाममा आठ आना अर्थात आधा रोपनी जग्गा किनेका हुन् । त्यस बेला पौडेलले जम्मा चार लाखमा खरिद गरेको उल्लेख छ ।

बालुवाटार जस्तो क्षेत्रमा पौडेलले खरिद गरेको मूल्य नै शंकास्पद रहेको छ ।

सरकारी जग्गा खरिद गरेको समाचार र रिपोर्ट सार्वजनिक भएपछि नेकपाका महासचिव पौडेलको आलोचना र विरोध हुँदै आएको छ ।

तर, कम्युनिस्ट सरकारले भूमाफियाहरूले महासचिव पौडेललाई फसाएको भन्दै क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव अगाडि सारेको छ ।

गत बिहीबार सिंहदरबारभित्र आयोजित पत्रकार सम्मेलनमा कम्युनिस्ट सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले महासचिव पौडेललाई फसाइएको भन्दै क्षतिपूर्ति दिइने बताएका थिए ।

बालुवाटारको सरकारी जग्गा आफ्नो नाममा बनाउनेमा भाटभटेनी सुपर मार्केट्सका मालिक मीनबहादुर गुरुङ पनि रहेका छन् । गुरुङलाई त झन् कम्युनिस्ट सरकारले विभूषणबाट सुशोभित गर्दै छन् ।

शीतल निवासमा हुने विशेष कार्यक्रममा गुरुङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्ने कार्यक्रम छ ।

Published : Sunday, 2019 April 14, 8:37 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया