देउखुरीमा २३ घर, गोठ जलेर नष्ट, आगलागीबाट ठूलो क्षति

लमही । दाङ जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७ हाडबासस्थित गाईघाट सामुदायिक वनमा आगलागी हुँदा २३ घर धुरी (घर, गोठ) जलेर क्षति भएको छ ।

आइतबार मध्यान्ह १२ बजेतिर वनमा लागेको आगोले घर, गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रारम्भीक जानकारी अनुसार आगलागीबाट करीव ८७ लाख ७५ हजार बराबरको क्षति भएको छ ।

आगलागीबाट पीडित भएका ९९ जनालाई आ–आफ्नो पाखो बारीमा राजपुर गाउँपालिकाबाट खाद्यान्न र मानव कल्याण शाखा घोराहीबाट टेन्ट (पाल), म्याट्रेस र कम्बलको व्यवस्थाका लागि पुनर्स्थापित गरिएको छ ।

आगलागीको सूचना पाउनेवित्तिकै खटिएको प्रहरीसहितका सुरक्षाकर्मीहरूले २ बजेर ३० मिनटमा आगो नियन्त्रणमा लिएका थिए ।

सामुदायिक वनमा आगो नियन्त्रामा आउन सकेको छैन । तर, आगो कम भएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालले आगो नियन्त्रणमा ठूलो प्रयास गरेको छ ।

आगलागीबाट ईन्दबहादुर वली, शालिकराम वली, कमल केसी, चन्द्रबहादुर कुमाल, यमबहादुर कुमाल, भीमीकुमारी बोहरा, लोकबहादुर घण्डारी, दामोदर भण्डारीको घर, गोठ जलेको छ ।

भागीरथ कुँवर, खेमलाल खत्री, खेमराज डाँगी, रुपनाथ योगी, टेकबहादुर डाँगी, शालिकराम डाँगी, धर्मराज डाँगी, अर्जुन योगीको घर, गोठ पनि जलेर नष्ट भएको छ ।

नरबहादुर थापा, विशाल बुढा, काली ऐरी, सीता भण्डारी, भेषबहादुर केसी, मानीनाथ कुँवर, लालबहादुर केसी,को घर, गोठ पनि जलेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2024 April 28, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया