गृहमन्त्री निकटको ‘सिधाकुरा’ले अटेर गरेपछि काउन्सिलले पूरै गोठलाई हाजिर हुन दियाे निर्देशन

काठमाडौं । प्रेस काउन्सिल नेपालले विवादास्पद सामग्री प्रशारण गर्ने ‘सिधा कुरा’ अनलाइन र युट्युबका सम्पादक, कार्यक्रम सञ्चालक/प्रस्तोतालाई बयानका लागि बोलाएको छ ।

काउन्सिलले सिधाकुराबाट सम्प्रेषण भएको सामाग्रीका पुष्टि हुने आधार प्रमाणसहित सोमबार ३ बजे सञ्चार माध्यमका सम्पादक र कार्यक्रम सञ्चालक प्रस्तोतालाई कार्यालयमा उपस्थित हुन आदेश दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् गृहमन्त्री रवि लामिछाने निकट मानिने सिधाकुराले भ्रामक सामाग्री बनाएर प्रकाशन तथा प्रशारण गरेको आरोप छ ।

सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको ‘स्टीङ अपरेशन कैलाश सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए’ भन्ने शीर्षक राखेर सम्प्रेषित अडियोसहितको सामग्रीको सम्बन्धमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा र कान्तिपुर दैनिकका अध्यक्ष कैलाश सिरोहियाले शुक्रबार इमेलमार्फत काउन्सिलमा उजुरी दिएका थिए ।

‘यस सम्बन्धमा त्यहाँ मिडियाबाट मिति २०६१/०१/१५ गते अपराह्न ३ः१५ मा काउन्सिलको निर्देशनलाई अस्वीकार गर्दै विशेष सम्पादकीयमार्फत् आफ्नो भनाइ सम्प्रेषण भएको अनुगमनबाट देखिएको र ढिलो गरी काउन्सिलमा प्राप्त जवाफमा रिपोर्टमा समाचारका सामान्य मान्यताअनुसारका समाचारको ब्यालेन्समा पक्कै केही कमजोरी भएको हुनसक्छ’ भनी स्वीकार भएको र ‘सिधाकुराको समाचार कक्षको प्रमुखको हैसियतमा हामीबाट समाचारको व्यालेन्सको कुरामा केही कमजोरी भएपनि प्रस्तुत समाचारका आरोपितहरूको भनाइलाई हामी स्थान दिने नै छौं’ भनी जवाफ पेस भएको पाइयो । साथै त्यस मिडियाको अनुगमन हुँदा ‘अन्नपूर्ण टावरको डील, रामशाहपथको पेसी र फैसलाका संयोगहरू शीर्षकमा २०८०/०१/१५ राति १०ः२२ मा र ‘स्टीङकर्ताको बयान– अनि स्टिङ अपरेशन खारेज गराउन लाग्नेहरु नै स्टीङ अपरेशनमा परे’ शीर्षकमा २०८०/०१/१६ ०१ः४७ मा सिलसिलेवर सामग्री सम्प्रेषण भएकोप्रति काउन्सिलको ध्यानाकर्षण भएको छ ।’

प्रसारित सामग्रीका सम्बन्धमा काउन्सिलले दिएको निर्देशन अस्वीकार गर्दै विशेष सम्पादकीयमार्फत आफ्नो भनाइ प्रकाशन गरेको पाइएको पत्रमा उल्लेख छ ।

आचारसंहिता अनुगमन उपसमितिको बैठकले समाचारमा आरोप लगाइएका व्यक्तित्वहरूको त्यस अडियो सामाग्रीमा आवाज नभएको, सम्प्रेषित सामाग्रीमा उजुरीकर्ताको नाम आइरहँदा सम्बन्धितको भनाइ राख्नुपर्नेमा त्यस्तो नभएकाले सामाग्रीले सन्तुलन गुमाएको र तथ्यगत पुष्टिका आधार नदेखिएको निष्कर्ष निकालेको छ ।

पत्रमा भनिएको छ, ‘उक्त सामग्रीकै सन्दर्भमा सिलसिलेवर रुपमा थप दुई भागसमेत सम्प्रेषण भएको सम्बन्धमा मिति २०८०/०१/१६ गतेको आचारसंहिता अनुगमन उपसमितिको बैठकमा छलफल हुँदा ‘समाचारमा आरोप लगाइएका व्यक्तित्वहरूको त्यस अडियो सामग्रीमा आवाज नभएको, सम्प्रेषित सामग्रीमा उजुरीकर्ताको नाम आइरहँदा सम्बन्धितको भनाइ राख्नुपर्नेमा त्यस्तो कार्य नभएको हुँदा सामग्रीले सन्तुलन गुमाएको र तथ्यगत पुष्टिका आधार नदेखिएको हो ।’

तथ्यगत आधार प्रमाणविनै व्यक्ति र सम्मानित संस्थाको मर्यादा, प्रतिष्ठामा आँच आउनेगरी प्रविधिको अदृश्य प्रयोग गरी समाचार सामग्री प्रसारण भइ त्यसवाट पत्रकार आचारसंहिता गम्भीर उल्लंघन हुन गएको काउन्सिलको ठहर छ’, पत्रमा भनिएको छ ।

‘उक्त सम्बन्धमा काउन्सिलबाट मिति २०६१/०१/१४ गते त्यहाँ पठाएको पत्रानुसार कार्यान्वयन नगरी ढिलो गरी काउन्सिलमा प्राप्त जवाफमा रिपोर्टमा समाचारका सामान्य मान्यताअनुसारका समाचारको ब्यालेन्समा पक्कै केही कमजोरी भएको हुनसक्छ’ भनी स्वीकार भएको र सिधाकुराको समाचार कक्षको प्रमुखको हैसियतमा हामीबाट समाचारको व्यालेन्सको कुरामा केही कमजोरी भएपनि प्रस्तुत समाचारका आरोपितहरूको भनाइलाई हामी स्थान दिने नै छौं’ भनी जवाफ पेस भएको पाइयो’, काउन्सिलले पत्रमा भनेको छ ।

तथापि धारावाहिकरुपमा यसैसँग सम्बन्धित विवादास्पद सामग्री सम्प्रेषण भइरहेको देखिएको हुँदा सञ्चार माध्यमबाट सम्प्रेषण भएको सामग्रीका पुष्टि हुने आधार प्रमाणसहित २०८१/०१/१७ गते दिनको ३ः०० बजे सञ्चार माध्यमका सम्पादक र कार्यक्रम सञ्चालक प्रस्तोतालाई काउन्सिलमा उपस्थित हुन पत्राचार गर्ने निर्णय भएको हुँदा मिति २०८१/०१/१७ दिनको ३ः०० बजे उपस्थितिका लागि निर्णयानुसार जानकारी गराइन्छ भनेर काउन्सिलले निर्देशन दिएको छ ।

Published : Sunday, 2024 April 28, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया