गृहमन्त्री लामिछाने निकटको सिधाकुरालाई कारबाही गर्न न्यायाधीश समाजको माग

काठमाडौं । न्यायाधीश समाज नेपालले सिधाकुरा डट कमद्वारा प्रकाशित/प्रसारित भ्रामक समाचार न्यायप्रणालीप्रतिकै आक्रमण भएको जनाएको छ ।

आइतबार समाजका महासचिव टेकनारायण कुँवरले विज्ञप्ति जारी गरेर न्यायालयमाथि भएको आक्रमणका बारेमा आवश्यक जाँचबुझ गरी सम्बन्धित संस्थालाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

कुँवरले सीधाकुरा डटकम नामक अनलाइन टि.भि./समाचारबाट ‘भ्रष्टाचारका चारसय मुद्दा हराउने गोप्य डिल’ भन्ने शीर्षक दिई २०८१ वैशाख १४ गते प्रसारित र प्रकाशित गरिएको सामग्रीको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

‘कुनै न्यायाधीश विशेषबाट कुनै काम कारबाही वा फैसला बदनियतपूर्वक वा कानुन विपरीत भएको भन्ने लाग्छ भने सो सम्बन्धमा सम्बन्धित निकायमा कानून बमोजिम कै प्रक्रिया अबलम्बन गरेर उपचारको खोजि गर्नु एउटा कुरा हो तर, त्यसतर्फ नलागी कुनै तथ्यको सत्य असत्यको परीक्षण पनि नगरी कुनै न्यायाधीश विशेषलाई मुछेर अदालतबाट भएको फैसलामा अनुचित प्रभाव परेको भन्ने किसिमको निष्कर्ष प्रमाणित भइसके जस्तो गरी समाचार सम्प्रेषण हुनु एउटा न्यायाधीश विशेषको विरुद्धमा मात्र नभएर समग्र न्यायप्रणाली प्रति कै आक्रमण हो भन्ने यो समाजले ठानेको छ’, विज्ञप्तिमा भनिएको छ ।

जुन फैसलाको विषयलाई लिएर न्यायाधीश डा. आनन्दमोहन भट्टराईको नाम मुछिएको हो सो फैसला गर्ने इजलासमा उनी समावेश नरहेको भएको व्यहोरा सोही फैसलाबाट देखिएको समाजले उल्लेख गरेको छ ।

‘समाचार संस्थाबाट निर्वाह गरिने यस प्रकारको भूमिकाले आम नागरिकको आस्थाको धरोहरको रुपमा रहेको न्यायपालिका र न्यायप्रणाली प्रति नै भ्रम सिर्जना भई समग्र राज्य प्रणालीप्रति नै आम जनसाधारणमा वितृष्णा उत्पन्न गराउँछ भन्ने यो समाजको ठहर छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘समाचारमा आएका विषयहरूबाट भ्रमित नहुन र यस सम्बन्धमा आवश्यक जाँचबुझ भई सम्बन्धित समाचार संस्थालाई कानूनको दायरामा ल्याउनेतर्फ आवश्यक कारबाही हुन पनि सम्बन्धित सबैमा यो समाज अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने निकट मानिने सिधाकुराले भ्रामक सामाग्रीहरू तयार पारेर सम्प्रेषण गरेको आरोप लागेका बेला समाजले नै विज्ञप्ति जारी गरेर छानविनसहित दोषीलाई कारबाहीको माग गरेको छ ।

Published : Sunday, 2024 April 28, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया