बद्नाम भयो ओली सरकार, कमाउ अड्डामा यी दुईभाईको धन्दा

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्ष र सदस्य सचिव पदका लागि बद्नाम व्यक्तिहरुको दौडधुप शुरु भएको छ ।

प्रधानमन्त्री केपी ओलीले क्याबिनेटमार्फत हटाएका निवर्तमान उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले सोही पदमा पुनर्नियुक्तिका लागि चलखेल शुरु गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारका पर्यटन, नागरिक तथा उडड्यनमन्त्री जितेन्द्र देवको पालामा त्रिपाठीले उपाध्यक्षमा नियुक्ति पाएका थिए । देउवा पत्नी आरजु देउवा राणाको दवावमा जितेन्द्र देवले त्रिपाठीलाई नियुक्ति गरेका थिए ।

त्यस बेला त्रिपाठीले जितेन्द्र देवलाई मात्रै तीन करोड बुझाएर उपाध्यक्ष पद हत्याएको चर्चा चलेको थियो । त्रिपाठीले त्यति नै पैसा आरजुलाई पनि दिएको भन्दै आरजुकै बद्नाम भएको थियो । कोषको उपाध्यक्ष पद अत्यन्तै आकर्षक मानिन्छ ।

वर्तमान सरकारले त्रिपाठीलाई उपाध्यक्ष पदबाट हटाएपछि आत्तिएका त्रिपाठी फेरि सोहि पदमा फर्किन अहिलेका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसँग सेटिङ मिलाउन थालेको स्रोतले जनाएको छ ।

केही समय अगाडि यिनै त्रिपाठीले पर्यटनमन्त्री अधिकारीलाई क्यानाडा घुमाएका थिए । मन्त्री अधिकारी पनि त्रिपाठीलाई कोषको उपाध्यक्ष बनाउन तम्सिएका छन् । तर, प्रधानमन्त्री ओलीको सचिवालयले त्रिपाठीलाई रुचाएको छैन ।

त्रिपाठीको ठाउँमा नेकपाकै कुनै राम्रो मान्छेलाई कोषको उपाध्यक्ष बनाउन ओलीको सचिवालयले तयारी थालेको छ । ओलीको सचिवालयले भने सुरज बैद्यलाई उपाध्यक्ष बनाउने तयारी गरिरहेको छ ।

स्रोतका अनुसार पर्यटनमन्त्री अधिकारीले त्रिपाठीलाई नै उपाध्यक्ष बनाउने गरेर टिप्पणी उठाउन सचिवलाई आदेश दिएका छन् ।

मन्त्रीको आदेश आउने वित्तिकै पर्यटन मन्त्रालयमा त्रिपाठीका पक्षमा माहोल बनेको चर्चा छ । त्रिपाठीले उपाध्यक्ष पदमा फर्किन मन्त्री अधिकारीलाई आकर्षक आर्थिक प्रलोभनमा पारेको चर्चा पर्यटन मन्त्रालयमा छ ।

विवादास्पद छविका त्रिपाठीमाथि क्रिश्चियन धर्मलाई फाइदा हुने गरेर गतिविधि गर्ने गरेको आरोप छ । त्रिपाठीले बौद्ध धर्मप्रति शुभेच्छा राख्नेहरुलाई भन्दा पनि क्रिश्चिनय धर्मलाई सहयोग मिल्ने गरेर गतिविधि गरेको भनेर बौद्ध भिक्षुहरुले यसअघि पनि विरोध जनाइसकेका छन् । नेपाली कांग्रेस निकटका मानिने त्रिपाठीसँग पर्यटन मन्त्री अधिकारी एकाएक किन नजिकिए भनेर मन्त्रालयभित्रै चर्चा हुन थालेको छ ।

उता, केही दिनभित्रै अनिवार्य अवकासको मुखमा रहेका पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विष्णुप्रसाद ढकालले लुम्बिनी विकास कोषको सदस्य सचिव पदमा मुख मिठ्याएर बसेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको नाम भजाएर प्रजिअ ढकालले कोषको कार्यालय र आर्थिक स्रोतका बारेमा जानकारी लिने जस्ता क्रियाकलाप गर्न थालेको उच्च स्रोतले जनाएको छ ।

‘लुम्बिनी विकास कोषको सदस्य सचिव भएर म आउँदै छ । के कस्तो छ विचार गरेर मात्रै काम गर्नु होला है, आम्दानीका स्रोतहरु के छन् ?’, कोषका एकजना कर्मचारीले भने–‘विष्णुप्रसाद ढकालले नेकपाका महासचिव विष्णु पौडेलको नाम लिएर हामीलाई फोन गर्न थाल्नु भएको छ ।’

स्याङजा घर भएका प्रजिअ ढकाल पाल्पामा सरुवा हुनु अगाडि रुपन्देही जिल्लामा काम गरेका थिए । सोही बेला लुम्बिनी विकास कोषको आकर्षक कमाइ र पदमा आँखा लगाउँदै आएका थिए ।

नेकपाका महासचिव पौडेलले कोषको सदस्य सचिवमा ढकाल नियुक्ति गर्न दवाव दिएको स्रोतले जनाएको छ ।

नेपाली कांग्रेस निकट मानिने प्रजिअ ढकाल कोषको सदस्य सचिव पाउनका लागि नेकपामा प्रवेशको तयारी समेत गरेका छन् । रुपन्देही जिल्लाको प्रजिअ हुँदा भ्रष्टाचारमा पनि ढकालको नाम जोडिएको थियो । यूनाइटेड पोष्ट साप्ताहिकबाट साभार

Published : Thursday, 2018 July 26, 1:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया