बुद्धिचाल प्रतियोगिता गरेर गणेशमान सिंहज्यूको सम्मान भएको छ : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले गणेशमान सिंहज्यूको सम्मान र स्मरणमा आयोजित बुद्धिचाल प्रतियोगिताका खेलाडीहरूलाई शुभकामना दिएका छन् ।

बुधबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्टस् क्लबको संयुक्त आयोजनामा सञ्चालित नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको खेलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले दिमागको खेल बुद्धिचालले युवाहरूलाई नयाँ दिशा दिने बताए ।

उनले भने, ‘सबैको समानताका लागि, राणादेखि राजा फाल्दै नेपाली जनतालाई समानताको लडाइँको लागि, समान अवसरको लागि, प्रजातन्त्रको लागि, सबैको अवसरको लागि, समान हुन्छ भन्ने उदेश्यका साथ हाम्रा शीर्ष नेता गणेशमान सिंहको योगदान छ ।’

‘गणेशमान सिंहज्यूको स्मरण र सम्झनामा गरिएको यो बुद्धिचाल, दिमागको खेलमा सबै सहभागी हुनुहुन्छ’, उनले भने ।

‘४२ जिल्लाबाट आउनुभएको छ । हृदयदेखि सम्मान गर्दै यो खेलमा सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु । जितको लागि सबैलाई शुभकामना छ । जित्ने खेलाडीलाई अग्रिम बधाइ’, सभापति बानियाँले भने ।

उनले भने, ‘हामी प्रजातन्त्रमा सबै विधाका, सबै किसिमका, सबैको सम्मान गर्ने किसिमका खेल र दिमाग बुद्धिले समाज परिवर्तनको लागि गरिने सबै किसिमका क्रियालाई सम्मान गर्छौं’, बानियाँले भने ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्टस् क्लबको संयुक्त आयोजनामा संचालित नवौँ गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग बुद्दिचाल प्रतियोगिताको नवौँ चरणको खेलमा ४२ जिल्लाका खेलाडीहरू सहभागी छन् ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत, बागमती कांग्रेसका सभापति बानियाँ, पूर्वमन्त्री एवम् नेता रामकृष्ण चित्रकार लगायतका नेताहरूले प्रतियोगितालाई अवलोकन समेत गरेका छन् ।

Published : Wednesday, 2024 May 1, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया