करीव १० करोड ठगी गर्ने चार जना काठमाडौंबाट पक्राउ

काठमाडौं । अमेरिका तथा क्यानडा लैजाने भन्दै मानव तस्करी गरी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार पक्राउ पर्नेहरूमा ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–२ बस्ने ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँको ऋषिङ्ग गाउँपालिका–२ बस्ने ४८ वर्षीय जङ्गबहादुर बिक (बराल) र ४६ वर्षीय विष्णुबहादुर बराली रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले उनीहरूलाई कञ्चनपुरको गड्डाचौकी नजिकबाट पक्राउ गरेको थियो ।

अमेरिका, क्यानडा लगायतका मुलुकहरूमा पठाइदिन्छौं भन्दै १० जना व्यक्तिहरूबाट ५ करोड ५० लाख रूपियाँ ठगी गरेको अभियोगमा यसअघि सिन्धुपाल्चोकका टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई प्रहरीले पक्राउ गरेको थियो ।

टासी, ङिमबुटी र निमालाई एजेन्टको रूपमा राखेर जगतबहादुर समेत ३ जना भारतको नयाँ दिल्लीमा बसेर संगठित रूपमा मानव तस्करी एवम् ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरूले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगान्डा लगेर राहदानी तथा डलर खोसी ६ देखि ९ महिनासम्म अलपत्र पारी राखेको, केन्या र युगान्डामा सम्बन्धित देशको नागरिक समेतलाई एजेन्ट राख्ने गरेको, पीडितहरू अमेरिका प्रवेश गरे पश्चात जेलमा पर्ने र आफ्ना मानिसहरूले कानुन व्यवसायीहरू प्रयोग गरी जेलबाट मुक्त गरी रोजगारीमा लगाउने भनि पहिले नै काउन्सेलिङ गरी विश्वास दिलाउने गरेको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

उनीहरूमध्ये जगतविरुद्ध वैदेशिक रोजगारी विभागबाट पक्राउ पुर्जी समेत जारी भएकोले उनलाई वैदेशिक रोजगार विभाग पठाइएको छ ।

यता, वैदेशिक रोजगारीमा टर्की पठाउने भन्दै १ सय २४ जना ब्यक्तिहरूबाट ४ करोड ३४ लाख रूपियाँ ठगी गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने ४२ वर्षीय विनोद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

टर्कीको युएन मिसन कार्यालयमा वोर्क पर्मिटमा कामदार पठाउने, त्यहाँ गएपछि आकर्षक तलब हुने, युएनको भवन निर्माणको काममा मासिक १ हजार ४ सय ५० डलर कमाई हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरूबाट उक्त रकम लिई सम्पर्क विहीन भई फरार रहेका श्रेष्ठलाई प्रहरीले चावहिलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Published : Monday, 2024 May 13, 8:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया