सहकारी ठगका आरोपी गृहमन्त्रीलाई कारबाहीको मागसहित काठमाडाैंमा महिला संघद्वारा प्रदर्शन

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगी गरेको अभियोग लागेका गृहमन्त्री रवि लामिछानेविरुद्ध नेपाल महिला संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

मंगलबार रत्नपार्कमा संघले सहकारी ठगलाई कारबाहीको माग र निक्षेपकर्ताको रकम फिर्ताको माग गरेर प्रदर्शन गरेको हो । संघकी अध्यक्ष उषा राउतले सहकारीको करोडौं रकम अपचलन र ठगी गर्ने व्यक्ति गृहमन्त्री जस्तो उच्च पदमा रहेको भन्दै कारबाहीको माग गरिन् । उनले गृहमन्त्री लामिछानेले शक्तिको दुरुपयोग गरेर आफूविरुद्धका प्रमाणहरू नष्ट गर्ने आरोप लगाएकी छिन् ।

उनले नागरिकहरूले सहकारीमा जम्मा गरेको बचत फिर्ता हुनुपर्ने माग गरेकी छिन् ।

महिला संघले सहकारीको रकम दुरूपयोग गरी अपचलन गर्ने ठगहरूलाई छानबिन दायरामा ल्याई कानूनी कारबाही गर्न सरकारलाई दबाब सिर्जना गर्न प्रदर्शन गरेको छ ।

नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सहकारीको रकम ठगी गर्ने व्यक्तिलाई कानूनी दायरमा ल्याउन दवाव सिर्जना गर्न तरुण दलले पनि आन्दोलन गर्न लागेको बताए । उनले राज्यशक्तिको दुरुपयोग गरेर सहकारी ठग र नटवरलालहरू भुक्ने गरेको भन्दै धेरै नउफ्रिन सचेत गराएका छन् ।

प्रदर्शनमा नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, काठमाडौं कांग्रेस सभापति सबुजकृष्ण बानियाँलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच, नेपाल तरुण दलले बुधबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्न लागेको छ । सहकारी ठगलाई कारबाही र संसदीय छानबिन समिति गठन गरिनुपर्ने मागसहित तरुण दलले प्रदर्शन गर्न लागेको छ ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गरेर संसद अबरुद्ध गर्दै आएको छ ।

Published : Tuesday, 2024 May 14, 4:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया