सहकारी ठगीमा मुछिएका गृहमन्त्रीबारे कांग्रेसको अडान, सभामुखको बैठक निष्कर्ष विहीन

काठमाडौं । नेपाली कांग्रसले संघीय संसदको बजेट अधिवेशनमा संसदीय छानबिन समिति गठनको मागलाई लिएर अवरोध गर्ने सूचना दिएको छ ।
बिहीबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख देवराज घिमिरेद्वारा प्रमुख सचेतक र सचेतकहरूसँग गरिएको छलफलमा कांग्रेसले सहकारीको रकम ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानविन समितिको मागलाई दोहोर्याएको हो । कांग्रेसले संसदीय छानविन समिति बनाउने गरेर सरकार आउनुपर्ने जनाएको छ । कांग्रेसको अडानपछि सभामुखले बोलाएको बैठक निष्कर्ष विहीन बनेको छ ।
शुक्रबारबाट शुरु हुने बजेट अधिवेशन व्यवस्थित बनाएर लैजानेबारेमा छलफल भएको थियो ।
कांग्रेसले संसद् अवरोध गर्ने पुरानो अडान राखेसँगै सभामुख घिमिरेले बोलाएको बैठक विनानिष्कर्ष सकिएको छ । कुनै सहमति हुन नसकेपछि बैठक पुनः शुक्रबार बस्नेछ ।
एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभाको बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची तय भएको बताए । उनले शीर्ष नेताहरूको सम्बोधनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहजतापूर्वक सभा सञ्चालन गर्न दिनुपर्ने बारेमा छलफल भएको बताए ।
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले शुक्रबारको प्रतिनिधिसभा बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष र प्रतिपक्ष सबैले सहयोग गर्नुपर्ने बताए । बजेट अधिवेशन भएकाले सुरु हुने र राम्रोसँग व्यवस्थित हुनेमा आशावादी रहेको उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस र एमालेको संसदीय दलको बैठक शुक्रबार नै बस्ने भएकाले थप निर्णय नभएपनि संसद् सामान्य हिसाबमा नै अघि बढ्ने बताए । उनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने बताएका छन् ।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसद् बैठक सञ्चालनमा अझै कुरा नमिलेको बताए । उनले कांग्रेसको संसदीय दलको बैठकपछि थप निर्णय हुने बताएका छन् ।
बिचार/ब्लग

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया