लोकमान सिंहको जस्तै पतनको बाटाेमा लामिछाने, मर्यादा भुलेर कांग्रेससंग प्रतिशोधमा उत्रिए

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीका आरोपी गृहमन्त्री रवि लामिछाने नेपाली कांग्रेसका नेताहरूमाथि जथाभावी बेलगाम रुपमा बोलिरहेका छन् ।

हरेक सार्वजनिक कार्यक्रमहरूमा कांग्रेसका नेताहरूमाथि जथाभावी अभिव्यक्ति र टिकाटिप्णी गरिरहेका छन् । सहकारी ठगीको विषयमा लामिछानेमाथि संसदीय छानविन समिति बनाउन माग गरेको कांग्रेस र कांग्रेस नेताहरूमाथि जथाभावी बोल्नुपर्ने कारण नै छैन । छानविनको माग गरेका कांग्रेसका नेताहरूलाई गृहमन्त्री लामिछानेले धम्कीको भाषा बोलिएरहेका छन् ।

लामिछाने कुनै साधारण व्यक्ति होइनन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति समेत रहेका लामिछाने उपप्रधान एवम् गृहमन्त्री हुन् । उनीमाथि प्रश्न उठ्नु स्वभाविक हो ।

आइतबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री लामिछानेले दिएको धम्कीको भाषा राजनीतिक आचारण विपरित र संसदीय मर्यादाविरुद्ध रहेको छ । आफूविरुद्ध लागेका आक्षेपका बारेमा लामिछानेले जवाफ दिन पाउँछन् । तर, कांग्रेसका नेताहरूको नाम लिएर व्यक्तिगत रुपमा लाञ्छना लगाउनु उनको गम्भीर त्रुटि हो । कांग्रेसविरुद्ध जथाभाबी बोल्दै गर्दा लामिछानेले एमालेका अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले गिरिबन्ध टि इस्टेटको ४३४ बिघा जग्गामा गरेको भ्रष्टाचारका बारेमा एकशब्द बोलेका छैनन् । ओम्नी, यती काण्डका बारेमा बोलेका छैनन् ।

लामिछानेको मातहतमा सिङ्गो गृह प्रशासन छ । दुई वटा प्रमुख सुरक्षा संगठन छन् । लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (माओवादी केन्द्र, एमाले जस्ता राजनीतिक शक्तिको साथ छ ।

देशको उपप्रधानमन्त्री र सत्ता गठबन्धनको जिम्मेवार नेताका रूपमा संसद र सडकमा उठेका जल्दाबल्दा विषयको समुचित सम्बोधन गर्नु लामिछानेको दायित्वमा पर्छ ।

संसदको रोस्ट्रममा उभिएर ३९ मिनेट बोल्दा लामिछानेले सम्पूर्ण समय कांग्रेस र कांग्रेसका नेताहरूमाथि आरोप खन्याउनका लागि उपयोग गरेका छन् ।

आइतबारको संसद बैठक लामिछानेलाई बोल्न दिनकै लागि राखेको जस्तो देखिएको छ । लामिछानेले आफू र आफ्नो विभागीय दायित्व भएको मन्त्रालयका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिन त्यो समय पाएका थिए ।

लामिछानले विपक्षी दलमाथि आक्रमण गरेर समय खेर फालेका छन् । गृहमन्त्री लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सांसद टेकबहादुर गुरुङ, सांसद रामहरि खतिवडा लगायतका नेताहरूमाथि व्यक्तिगत रुपमा प्रतिशोधपूर्ण तरिकाले बोलेका छन् । उनले कांग्रेसका अन्य नेताहरूको पनि नाम नलिएर धम्की दिएका छन् । लामिछानेले छानविन गरेर कांग्रेसका सबै नेताहरूलाई देखाइदिनेसम्मको धम्कीलाई आफू बच्नका लागि गरेको हर्कतको रुपमा टिप्पणी भएको छ । लामिछाने गृहमन्त्री छन् । हिम्मत छभने निष्पक्ष रुपमा अनुसन्धान गर्न सक्छन् ।

आफूविरुद्ध संसदीय छानविन समितिको माग गरेको आक्रोश र पूर्वाग्रही भएर लामिछाने गृह प्रशासनलाई दुरुपयोग गरेर जथाभावी बोल्न पाउँदैनन् । अहिले गृह मन्त्रालय लामिछानेको हातमा छ । अर्को दिन गृह मन्त्रालय अन्य दलको हातमा जान सक्छ । त्यो बेला लामिछानेको पत्नीलाई धोका दिएको काण्ड, टिभी चलाउँदाको ब्ल्याकमेलिङ काण्ड, आत्महत्या दुरुत्साहन काण्ड, दोहोरो नागरिकता र राहदानी काण्ड, कीर्ते काण्ड आदि काण्डहरूको फाइल पनि खुल्न सक्छ ।

कुनै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूविरुद्ध कसैले बोल्यो भने ‘तँलाई फसाइदिउँ ?’ भनेर धम्की दिन्थे । लोकमानसिंहको त्यो हर्कत र व्यवहार गृहमन्त्री लामिछानेले अहिले देखाउन थालेका छन् ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिनको माग जोडतोडले उठाइरहेका कांग्रेसका नेताहरूलाई लक्षित गरेर लामिछानेले अनेकन आरोप लगाएका छन् ।

गृहमन्त्री लामिछानेले संसदमा बोल्दा महामन्त्री गगन थापाको नाम कतै लिएका छैनन् । लामिछानेले निकै आक्रोश र प्रतिशोधपूर्ण तरिकाले कृषि अनुदानको दुरुपयोगको कुरा बारम्बार उठाएका छन् । ‘सहकारी ठगी गर्नेलाई मात्रै होइन, कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, हाँस, माछा, खसी, बोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔँ’, लामिछानेले भनेका छन् ।

यति मात्र होइन, गृहमन्त्री लामिछानेले महामन्त्री थापाको नाम उल्लेख नगरी देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेटहरूलाई पनि (सदन)बाट बाहिर पठाऔँ भनेर गम्भीर आरोप पनि लगाएका छन् ।

लामिछानेले भनेका छन्, ‘त्यो जतिसुकै शक्तिशाली होस्, यो देशको मन्त्री होस् वा पार्टीको महामन्त्री होस् । सदनलाई लड्ने र भिड्ने थलोको रुपमा नबनाऔँ । तथ्यमा छलफल गरौँ ।’

लामिछानेले रातो पासपोर्ट बिक्रीको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङ र रोलेक्स घडी लुकाएको आरोप लागेका रामहरि खतिवडातर्फ पनि संकेत गरेका छन् । कांग्रेसका टेकबहादुर गुरुङको त लामिछानेले नामै लिएका छन् । अख्तियारमा बयान दिन गएका भनेर ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेतको प्रसंग पनि सांकेतिक रूपमा उनले उठाएका छन् ।

गृहमन्त्री लामिछाने अनुसन्धानमा प्रहरी परिचालन नगरी आरोपकै रूपमा राखेर विपक्षीमाथि प्रहार गर्ने अस्त्रका रूपमा मात्र ती सूचनालाई उपयोग गर्न खोजिरहेको लामिछानेको प्रस्तुतिले देखाएको छ ।

गृहमन्त्री लामिछानेले राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी माथि पनि आक्रमण गरेका छन् । केसीलाई जेठो छोरापट्टिको नातीलाई कान्छो छोराको छोरा बनाएर अमेरिका पठाएको भनेर आक्षेप लगाएका छन् ।

समग्रमा लामिछानेले आफू गृहमन्त्री भएको बिर्सिएका छन् । आफू छानबिन गर्ने र जवाफ दिने ठाउँमा भएको कुरा पनि लामिछानेले हेक्का राखेनन् ।

बरु छानबिन गर्ने हो भने कोही बाँकी रहँदैन भन्दै लामिछानेले आफूमाथि औँला उठाउन नमिल्ने प्रकारका तर्क गरेका छन् ।

लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन् । आफूले गरेका कीर्ते, ठगी, अपचलन बदमासीलाई न्यायसंगत भनेर बचाउ गरेका छन् ।

लामिछानेले यो पनि छानबिन गरौँ, त्यो पनि छानबिन गरौँ भनेर प्रशस्त सूचना र सुराक सदनमा दिएका छन् । उनले के हेक्का राखेनन् भने कुनै पनि अपराध वा भ्रष्टाचारको सुराक प्राप्त भएमा पहिला सरकारकै निकायबाट ती विषयको उचित निरुपण गरिन्छ । अनि त्यसबारे सदनलाई जानकारी गराइन्छ । लामिछानेले विरोधीलाई धम्क्याउने शैलीमा प्रस्तुत भएका छन् ।

गृहमन्त्री लामिछाने कार्यपालिकाको जिम्मेवार पदाधिकारी भएर सदनको रोस्ट्रममा उभिएर सर्वोच्च अदालतको फैसलामाथि टिप्पणी गरेर मानहानी गरेका छन् । कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवामा सर्वोच्च अदालतले गरेको फैसला र आदेशमाथि गृहमन्त्री लामिछानेले गरेको टिप्पणी न्यायालयमाथिको आक्रमण र मानहानी हो । लामिछानेले न्यायालयमाथि अशोभनीय टिप्पणी गरेका छन् ।

आफ्नो प्रतिरक्षामा अरूमाथि दोष थोपरेर उम्किने लामिछानेको यो प्रस्तुति विपक्षीलाई चिढ्याउने, आफ्नै कद घटाउने र गृहमन्त्रीजस्तो संस्थालाई थप विवादमा पार्ने प्रकृतिको छ । लामिछानेले संसदमा दिएको अभिव्यक्तिले उनीमा अझै पनि राजनीतिक आचारण, संस्कार छैन भन्ने पुष्टि गरेको छ । उनलाई राजनीतिमा सिक्नुपर्ने कुरा धेरै छन् ।

Published : Sunday, 2024 May 19, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया