प्रचण्डद्वारा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर विश्वासको मत लिए, कांग्रेससहितका दललाई घेराउ

काठमाडौं । सुरक्षाकर्मी परिचालन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक विश्वासको मत लिएका छन् ।

सोमबार दोस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा ठूलो संख्यामा सुरक्षाकर्मी (मर्यादापालक)हरूको परिचालन गरेर दाहालले विश्वासको मत लिएका हुन् । एमालेबाट सभामुख बनेका देवराज घिमिरेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अबरोध र प्रदर्शनलाई बेवास्ता गरेर सुरक्षाकर्मीको घेराभित्रबाट विश्वासको मत लिएका हुन् ।

कांग्रेससहित विपक्षी दलहरूले नाराबाजी गरेका थिए । जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दाहालले चौथो पटक विश्वासको मत लिएका हुन् ।

सभामुख घिमिरेले प्रधानमन्त्री दाहाललाई विश्वासको मतका लागि प्रस्ताव राख्न समय दिँदा रोष्टमसम्म घेराबन्दी गरेर सुरक्षाकर्मीले लगेका थिए । दाहालको प्रस्तावको समर्थक एमालेका सांसद विष्णु पौडेलले समर्थन गरेका थिए । सदनमा अबरोध भएपछि अन्य समर्थक दलहरूका सांसदले बोलेका थिएनन् ।

मतदानमा १५८ जना सांसद सहभागी रहेका छन् । प्रधानमन्त्री दाहाललाई १ सय ५७ सांसदले मत दिएका छन् । विश्वास मत दिन्न भन्नेमा १ मत परेको सभामुख घिमिरेले बताए ।

प्रधानमन्त्री दाहाललाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले मत दिएका छन् ।

सभामुख घिमिरेले प्रधानमन्त्रीले राखेको विश्वास मत प्रस्ताव बहुमतले पारित भएको पनि घोषणा गरेका छन् । नाराबाजी गरिरहेको नेपाली कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चासहितका प्रतिपक्षी दलहरू भने मतदान प्रक्रियामा सहभागी नै भएनन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिइरहँदा विपक्षी सांसदहरूले जबरजस्ती गर्न पाइँदैन, सरकारको जबरजस्ती बन्द गर जस्ता नारा लगाएका थिए । प्रतिनिधि सभा बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

यसैबीच, प्रधामन्त्री दाहालले आफूले विश्वासको मत लिइरहँदा नाराबाजी र अबरोध गरेर कांग्रेसले ठूलो गल्ती गरेको बताएका छन् ।

दाहालले चेतावनी शैलीमा भने, ‘तपाईंहरूले आज बहुत गलत गर्नुभयो । जुन प्रधानमन्त्रीले तपाईंहरूलाई पटक पटक साथ दियो र यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरूलाई संवादको बाटोमा ल्याउन मेहनत गरेको छ ।’

‘त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो’, प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्री दाहालले कांग्रेसले यसको ठूलो मूल्य चुकाउनुपर्ने पनि चेतावनी दिएका छन् । ‘तपाईंहरू कांग्रेसका लागि चर्को पर्नेछ । आज तपाईंहरूको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ । कलंकको रूपमा’, दाहालले भने ।

एमालेका सांसद विष्णु पौडेलले सरकार परिवर्तनका कोसिसहरू माकुराको जालोजसरी च्यातिएको बताएका छन् ।

पौडेलले भने, ‘सरकारलाई स्थायित्वको साथमा अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता थियो । यसबीचमा पर्दाभित्रबाट सरकारलाई कमजोर पार्ने, सरकार बदल्ने, कुनै पारदर्शी ढंगले होइन, पर्दाभित्रबाट सरकारलाई कमजोर बनाउने, सरकारलाई बदल्ने खालका कोसिसहरू पनि भए ।’

‘तर कोसिस माकुराको जालो जसरी च्यातियो, त्यो कुनै लुकेको कुरा होइन’, एमाले सांसद पौडेलले भने, ‘सरकार परिवर्तनका कोसिसहरू माकुराको जालोजसरी च्यातियो ।’

जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दहालले विश्वासको मत लिएका हुन् ।

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले पुस २६ गते विश्वासका मत लिएका थिए । त्यसबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले दाहाललाई समर्थन गरेका थिए ।

२०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भयो । चैत ६ गते प्रधानमन्त्री दाहालले पुनः विश्वासको मत लिएका थिए । त्यसबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए । विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो ।

गत फागुन २१ गते प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) सहितका दलको नयाँ समीकरण बनेको थियो । फागुन ३० गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए ।

विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ सांसदले समर्थन गरेका थिए । प्रस्तावको विपक्षमा ११० मत परेको थियो । प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको थियो ।

दाहालले यसअघि विश्वासको मत लिँदा जुन उत्साह र उमङ्ग थियो त्यो वातावरण चौथो पटकसम्म आइपुग्दासम्म रहेको छैन । संसदको सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसको मागलाई बेवास्ता गर्दै एमालेसँग मिलेर दाहालले विश्वासको मत लिनुपरेको छ ।

दाहालले सुरक्षाकर्मी परिचालन गरेर कांग्रेसलाई सुरक्षाकर्मीको घेराभित्र राखेर विश्वासको मत लिनु बिडम्बना भएको छ । दाहालको लोकप्रियता दिन प्रतिदिन कम हुँदै गइरहेको छ ।

Published : Monday, 2024 May 20, 3:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया