सहकारी ठगी र गिरिबन्धु टि इस्टेट जग्गामा एकअर्कालाई बचाउने ओली–लामिछानेबीच सहमति : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकारी ठगी र गिरिबन्धु टि इस्टेट प्रकरण नउठाउने गरी सहमति भएको बताएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेर थापाले रास्वपाका सभापति एवम् उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण एमालेले नउठाउने र एमालेमाथि लागेको गिरिबन्ध टि इस्टेट प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीले नउठाउने सहमति गरेको बताए ।

सहकारी प्रकरणमा एमालेले साथ दिने भएकाले रास्वपाका सभापति लामिछानेलाई चिन्ता नभएको उनले बताएका छन् ।

महामन्त्री थापाले भने, ‘सरकारलाई अविश्वास गर्नेहरूले सरकारले बनाएर हुन्छ, समिति बनाउनु पर्छ भन्छ । यहाँ त सरकारको गृहमन्त्री नै के भनिराख्नु भएको छ भने यसमा समिति बनाउने भनिराख्नु भएको छ । म आज यहीँबाट भन्छु–बनाउने हो । ल बनाउ । आज उहाँले जुन जुन विषयमा समिति बनाउने भन्नुभएको छ । सबैमा समिति बनाए हुन्छ ।’

‘अनि उहाँले आज के भन्नु भयो भने मेरो बारेमा बनाएको समितिमा म बस्नु पर्दैन’, उनले भने, ‘हो, तपाई बस्नु नै पर्दैन । तपाईको काम अब एमालेले गरिदिन्छ ।’

उनले भने, ‘किनभने तपाईहरूको बीचमा एउटा राम्रो समझदारी बनेकै छ । एमालेले सहकारी नउठाउने, तपाईहरूले गिरिबन्धु नउठाउने । त्यसैले त्यसको बारेमा धेरै चिन्ता भएन ।’

Published : Sunday, 2024 May 19, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया