विश्वासको मत, सहकारी ठगका आरोपी गृहमन्त्रीबारे कांग्रेसको राजनीतिक निर्णय

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत लिनभन्दा अगाडि सहकारीको रकम अपचलन र ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति गठन गर्न सुझाव दिएको छ ।

सोमबार बिहान संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले संसदीय समिति बन्नुपर्ने अडान कांग्रेसले राखेको हो । अन्यथा कांग्रेसले प्रतिनिधिसभाको बैठक अबरोध गर्ने जनाएको छ ।

प्रमुख सचेतक लेखकले भने, ‘सहकारीको ठगीमा संलग्न रवि लामिछानेजी, ठगी गर्ने, अपचलन गर्ने मनिसहरू, सम्बन्धित कम्पनीहरूलाई कडा कारबाही गर्न हामीले स्वतन्त्र, निष्पक्ष छानबिन समिति माग गरेका थियौं, पूर्ववर्ती निर्णयमा हामी दृढ छौं भन्ने पहिलो निर्णय गरेका छौं । संसदीय छानबिन समिति हाम्रो बटमलाइन हो ।’

‘संसदीय समिति बनाउनुस्, रवि लामिछानेमाथि अनुसन्धानको सुनिश्चितता गर्नुस्, समिति बनाएर सदनमा आउनुस्, विश्वासको मत मात्रै होइन, सरकारका जति पनि कार्यसूची छन् राति १२, १ बजेसम्म सदन चलाउनुस्, हामी तयार छौं’, उनले भने ।

प्रमुख सचेतक लेखकले संसदीय छानबिन समिति सदनबाट बन्नुपर्ने पनि बताएका छन् ।

प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाको सोमबारको बैठकमा विश्वास मत लिने तयारी गरेका छन् । विश्वासको मत लिने तयारी भइरहेका बेला कांग्रेसले संसदीय समितिको माग गरेको छ । कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय पनि गरेको छ ।

कांग्रेसले गृहमन्त्री लामिछाने सोमबारको संसद बैठकमा हिंस्रक रुपमा प्रस्तुत भएको निष्कर्ष निकालेको छ । कांग्रेसले गृहमन्त्रीको हिंस्रक रुपबारेमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

अरुलाई आरोप लगाएर आफू माथिको आरोपबाट लामिछाने भाग्न खोजेको भन्दै लेखेकले कांग्रेसलाई लामिछानेले लगाएका आरोपमा निष्पक्ष छानबिन गर्न मागसमेत गरेका छन् । उनले भने, ‘गृहमन्त्री रवि लामिछाने असभ्य, कपोलकल्पित र हिंस्रक ढंगले प्रस्तुत हुनुभयो । प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने छौँ ।’

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भनेर पत्रकारहरूले सोधेको प्रश्नमा लेखकले सहज ढंगले विश्वासको मत लिने भए संसदीय छानबिन समिति बनाएर आउन अनुरोध गरेका छन् ।

गृहमन्त्री लामिछानेलाई आरोप प्रमाणित गरेर देखाउन कांग्रेसले चुनौती दिएको छ । त्यसका लागि सरकारले निष्पक्ष छानबिन वा अनुसन्धान जे गर्ने भएपनि पार्टी तयार रहेको प्रमुख सचेतक लेखकले बताएका छन् ।

लेखकले गृहमन्त्री लामिछानेले प्रतिनिधिसभामा उठाएका विषयहरू असत्य, असभ्य, भ्रामक, र हिंस्रक भएको ठहर गरेको जानकारी दिएका छन् ।

उनले भने, ‘उपप्रधानमन्त्री र गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेकाले अरूलाई प्रश्न उठाउने होइन । आफ्नोबारे जवाफ दिने हो ।’

उनले भने, ‘अरूलाई आरोप लगाएर उहाँले आफू अभियोगबाट भाग्ने काम गर्नुभएको छ ।’

आरोपबाट भाग्ने प्रयास स्वरूप कलोकल्पित कुरा उठाएर लामिछाने असभ्य ढङ्गले प्रस्तुत भएको लेखकले बताए ।

‘उहाँको अभिव्यक्तिको कांग्रेसले धोर निन्दा र भर्त्सना गरेको छ । यसका बारेमा प्रधानमन्त्रीको पनिगम्भीर ध्यानाकर्षण गराएका छौँ’, उनले भने ।

कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको हो । यसका लागि कांग्रेसले सांसदहरूलाई ह्विप जारी गरेको छ ।

सोमबार बिहान बसेको कांग्रेस संसदीय दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरूलाई ह्विप जारी गर्नुका साथै संसदको अवरोध जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक लेखकले जानकारी दिए ।

Published : Monday, 2024 May 20, 11:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया