ओलीलाई विश्वास गरेर कांग्रेसभित्र विद्रोह गरेको फल केदार-शेखरले भोग्नै पर्ने थियो

काठमाडौं । कोशी प्रदेश सरकारको जन्म हुँदा नै प्रस्थान विन्दु गतिलो थिएन ।

प्रस्थान विन्दु गतिलो नभएपछि परिणाम राम्रो आउने सम्भावना हुँदैन । नेपाली कांग्रेसका नेता शेखर कोइराला र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अहिले आएर फल पाएका छन् । कांग्रेसले शेखर र केदारलाई अनुशासनको कारबाही गर्नुपर्ने थियो । विभिन्न कारणले कारबाही भएन । शेखर र कार्कीका कारण कांग्रेसलाई ठूलो नोक्सान भएको छ । कांग्रेस सत्ताभन्दा बाहिर जानुमा पनि शेखर र कार्कीकै ठूलो योगदान छ ।

एमालेका अध्यक्ष केपी ओलीको उक्साहटमा लागेर कांग्रेसका कोशी प्रदेशसभाका सदस्य कार्कीले सरकार बनाउन सफल भए । पार्टीभित्र विद्रोह गरे । अहिले आएर कार्कीलाई कांग्रेस चाहिएको छ । त्यस बेला कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेको पनि मानेनन् । शेखर र कार्कीले अनुशासनहीन काम गरे ।

कोशीबाट कांग्रेस र माओवादीको गठबन्धन तथा केन्द्र सरकारलाई भत्काउने ओलीको योजना पूरा भयो । ओलीको योजनालाई पूरा गरिदिए कांग्रेसका नेता शेखर र कार्कीले ।

ओलीसँग अपवित्र र अबैधानिकरुपमा हात मिलाएर शेखरले कोशीबाट केन्द्र सरकार भत्काउन सहयोग गरेका हुन् । अहिले पनि शेखरले अहँकारपूर्ण अभिव्यक्ति दिइरहेका छन् । गल्तीलाई स्वीकार गरेका छैनन् ।

तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाको ‘कोरटिम’का सदस्य शेखरले त्यस बेला के के गरेका थिए स्मरण होला नि ? शेखरका कारण धेरै नेताहरूको राजनीति समाप्त भएका छन् । हुन त गिरिजाबाबुलाई पनि धोका दिएर शेखर माओवादीबाट मनोनीत सांसद बन्न खोजेका थिए । गिरिजाबाबुले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शेखरलाई मनोनीत सांसद नबनाउन भनेपछि शेखर थन्किएर बसेका थिए ।

अहिले आएर ओलीले के के गरेका छन् ? सबैलाई छर्लङ्ग भएको छ । तैपनि ओलीलाई शेखरले अहिले पनि विश्वास गरेर प्रधानमन्त्री बन्ने लोभ गरिरहेका छन् । ओलीले शेखर र केदारलाई आफ्नो मोहरा बनाएका थिए । ओलीको मोहरा अर्थात् गोटी बनेको कुरा शेखर र केदारलाई थाहै भएन ।

शेखर र ओलीबीच निकै राम्रो सम्बन्ध हुन्थ्यो भने कार्कीको कोशी प्रदेश सरकारलाई केही हुने थिएन । ओलीले चाहेको भए कोशीमा कार्कीको सरकार बच्न सक्थ्यो । बिहीबारका दिन एकाएक मुख्यमन्त्री कार्कीलाई अपदस्थ गरिएको छ । नयाँ सरकारका लागि आह्वान गरिएको छ ।

कांग्रेसबाट टिकट लिएर चुनाव चिन्ह रुखबाट जितेर आएका कार्कीले मुख्यमन्त्री पदको लोभमा कांग्रेसभित्र विद्रोह गरे । कांग्रेसबाट विद्रोह गरेका कार्की र शेखरलाई तत्कालका लागि लाभ पनि भयो । तर, कांग्रेस सरकारबाट बाहिरिन पुग्यो । केन्द्र सरकार र प्रदेश सरकारहरू सबै कांग्रेसको हातबाट गुम्यो ।

Published : Thursday, 2024 May 9, 10:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया