प्रचण्ड सरकारले कांग्रेसलाई चिढ्याउने गरेर अभिव्यक्ति दियो, अल्टिमेटमको बेवास्ता

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सहकारीको करोडौं रकम दुरुपयोग र ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको बचाउ गरेकी छिन् ।

बिहीबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माले लामिछानेमाथि लागेको आरोप छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति नबनाएको बताएकी छिन् ।

बिहीबार मन्त्रिपरिषदको बैठकको छ । सरकारले उच्चस्तरीय छानबिन समिति बनाएको छ वा छैन भनेर सोधिएको प्रश्नको जवाफमा मन्त्री शर्माले गृहमन्त्री लामिछानेमाथि आरोप प्रमाणित हुने गरेर प्रमाण नभेटिएको दाबी गरेकी छिन् ।

उनले गृहमन्त्रीमाथि लागेको आरोप प्रमाणित हुनेगरी यथेष्ट प्रमाण नभेटिएको, सोही विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद तथा समितिमा बोलिसकेकाले समिति गठन नगरेको बताइन् ।

‘गृहमन्त्रीमाथि संसद्मा उठको प्रश्नको विषयमा प्रधानमन्त्रीले संसदमा उपस्थित भएर बोलिसक्नुभएको छ’, शर्माले भनिन्, ‘स्वयम् गृहमान्त्रीले पनि संसदीय समितिमा बोलिरहनुभएको छ ।’

उनले भनिन्, ‘अहिले छानबिन समिति बनाउनुपर्ने यथेष्ट प्रमाण नभेटिएकाले बनेको छैन ।’

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएको व्यक्ति नै गृहमन्त्री बनेको आरोप लगाउँदै छानबिन समिति बनाउनुपर्ने माग राखेको छ ।

कांग्रेसले संसदीय छानविन समिति बनाउन मागसहित संसद अवरोध गर्दै आएको छ । कांग्रेसले संसदको आगामी बैठकमा संसदीय छानविन समितिको प्रस्ताव लिएर आउन सरकारलाई अल्टिमेटम दिएको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीको रकम ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेको बचाउनमा विभिन्न तिकडम गरिरहेका छन् ।

सरकारकै प्रवक्ताले न्यायाधीशले जस्तै गरेर लामिछानेको बचाउ गरेकी छिन् । लामिछाने मात्रै होइन उर्जा, सिँचाई तथा जलस्रोतमन्त्री शक्तिबहादुर बस्नेत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, गृहमन्त्री लामिछानेकै पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी सहकारीको रकम ठगी प्रकरणमा मुछिएका छन् ।

Published : Thursday, 2024 April 4, 6:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया