विवादित पृष्ठभूमिका एमाले नेता पर्शुरामलाई २४ घण्टे स्पष्टीकरणको पुर्जी

विराटनगर । खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य सचिव पर्शुराम बस्नेत भनिने कृष्ण बस्नेतलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आइतबार सदस्य सचिव बस्नेतलाई स्पष्टीकरण सोधेका हुन् ।

२०७९ मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा सहभागी भई निर्वाचन खर्च विवरण समेत दाखिला गरेको पाइएको भन्दै मुख्यमन्त्री कार्कीले बस्नेतलाई स्पष्टीकरण सोधेका छन् । बस्नेत मोरङ क्षेत्रनम्बर ६ (२)बाट नेकपा (एमाले)को उम्मेदवार बनेका थिए ।
बस्नेतले २०७९ वैशाख १४ गते उच्च अदालत विराटनगरमा रिट दिएका थिए । २ वर्षपछि उच्च अदालतले बस्नेत पुनर्बहाली हुने फैसला गरेको थियो ।

उच्च अदालत विराटनगरले बस्नेतलाई सदस्य सचिवमा फर्काएपछि उनले बोर्डको कार्यालयमा गएर ताला फोडेर कार्यभार सम्हालेका थिए । बस्नेत निकै विवादित पृष्ठभूमिका एमालेका नेता हुन् । गुण्डा नाइकेको आरोप खेप्दै आएका बस्नेतलाई पटक पटक प्रहरी पक्राउ गरिसकेको छ ।

Published : Monday, 2024 May 6, 1:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया