ढोरपाटनमा करोडौं रुपियाँ हिनामिना, उप–प्रमुख कायतले कारबाही प्रक्रिया अगाडि बढाए

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका उप–प्रमुख धनबहादुर कायत ‘कल्याण’ले बाढीपहिरो पीडितका नाममा आएको रकम हिनामिना भएको विषयलाई उठाएर कारबाहीको चेतावनी दिएका छन् ।

उप–प्रमुख कायतले आइतबार विज्ञप्ति जारी गरेर बाढीपहिरोबाट ज्यान गुमाएका आफन्त र पीडितहरूलाई एक हप्ताभित्र लिखित उजुरी दिन आह्वान गरेका छन् ।

तत्कालीन नगर प्रमुख तथा एमालेका नेता देवकुमार नेपालीले बाढीपहिरो पीडितलाई एकद्वार प्रणालीबाट आर्थिक सहयोग वितरण गर्ने भनेर करीव साढे दुई करोड बैंकमा राखेका थिए । त्यो रकम पीडितहरूलाई दिएको भनिएको छ । तर, बास्तविक पीडितहरूले अहिलेसम्म आर्थिक सहयोग नपाएको गुनासो गरेका छन् ।

एकद्वार प्रणालीका नाममा राखिएको करीव साढे दुई करोड रकम पीडितहरूले नपाएको भनेर व्यापक जनगुसो गरेपछि उप–प्रमुख कायतले उजुरी मागेका छन् । उनले आर्थिक अनियमितता भएको रहेछ भने दोषीलाई उन्मुक्ति नदिने चेतावनी दिएका छन् ।

नगर उप–प्रमुख कायतले आर्थिक सहयोग जम्मा गरिएको ग्लोबल बैंकको स्टेटमेन्ट पनि माग गरेका छन् । उनले नगरपालिका अर्थात तत्कालीन नेतृत्वले बाढीपहिरो पीडितको नाममा संकलन भएको रकम हिनामिना भएको आशंकामा छानविन शुरु गरेका हुन् । कायतले दोषीलाई हदैसम्मको कारबाही गर्ने चेतावनी दिएका छन् ।

बिक्रम संवत २०७७ सालको भदौ १७ गते ढोरपाटनमा बाढीपहिरो आएको थियो । बाढीपहिरोबाट धेरै सर्वसाधारणले ज्यान गुमाएका थिए । ठूलो जनधनको क्षति भएको थियो ।

त्यस बेला विभिन्न संघ/संस्थाका साथै विदेशबाट आएको आर्थिक सहयोग एकद्वार प्रणालीबाट वितरण गर्ने नाममा ग्लोबल बैंकमा राखिएको थियो । तत्कालीन उप–मुख कर्मती पुन र योजना शाखाका प्रमुख चण्डीराज पौडेलको हस्ताक्षर चल्ने गरेर रकम राखिएको थियो ।

त्यो रकम कहाँ र कसरी खर्च भयो भन्ने खुलेको छैन । स्थानीय पीडितहरूले तत्कालीन नगर प्रमुख देवकुमार नेपाली, उप–प्रमुख कर्मती पुन र योजना शाखाका प्रमुख चण्डीराज पौडेलले हिनामिना गरेको आरोप लगाउँदै आएका छन् ।

उप–प्रमुख कायतले भनेका छन्, ‘बाढीपहिरो पीडितका नाममा एकद्वार प्रणालीमा आएको रकम बैंक खाता सञ्चालकमा निवर्तमान उप–प्रमुख कर्मती पुन र योजना शाखा प्रमुख चण्डीराज पौडेल जोडिएको हुनाले ग्लोबल बैंकको स्टेटमेन्ट ल्याइ बुझाउनु हुन अनुरोध छ ।’

‘यदि कसैले हिनामिना गरेको खण्डमा कानूनअनुसार असुल उपर गरि पीडित पक्षको न्यायको लागि सधैँ उभिरहने बाचा गर्दछु’, उप–प्रमुख कायतले चेतावनी दिएका छन् ।

स्थानीय तहको हालैसम्पन्न निर्वाचनमा कायत नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । उनले विगतमा कम्युनिस्टहरूले नगरपालिकाभित्र गरेका भ्रष्टाचार र अनियमितताको फाइलहरू खोतल्न थालेका छन् ।

सहकारीमा करोडौं रुपियाँ ठगी गरेर डुबाएर एमालेका नेता समेत रहेका नगर प्रमुख नेपाली बेपत्ता छन् । उनी पनि बाढीपहिरो पीडितको नाममा आएको रकम हिनामिना प्रकरणमा जोडिएको आरोप छ ।

Published : Sunday, 2023 May 14, 12:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया